स्वास्थ्य सेवा व्यवस्थापन र बिरामी सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
एक्सन खबर
काठमाडौं । स्वास्थ्य सेवा गुणस्तर व्यवस्थापन र बिरामी सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । काठमाडौं मेडिकल कलेज र कन्सोर्टियम अफ एक्रिडेटेड हेल्थकेयर अर्गनाइजेस (सिएएचओ) को संयुक्त आयोजनामा भएको सम्मेलनमा स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवाको गुणस्तरर व्यवस्थापन सम्बन्धी चर्चा गरियो ।
सम्मेलनको शिर्षक ‘प्रविधि मार्फत बिरामी सुरक्षा अभिवृद्धिः स्वास्थ्य सेवामा आविष्कार’ थियो । कार्यक्रमको प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिरामीको सुरक्षाको महत्व र कृत्रिम बुद्धिमत्ता सहित आधुनिक प्रविधि र आविष्कारहरू मार्फत स्वास्थ्य सेवा प्रणालीलाई अगाडि बढाउने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रमले विश्वव्यापी रूपमा स्वास्थ्य सेवा संस्थाहरूमा नवीनतम प्राविधिक, क्लिनिकल, र व्यावसायिक विकासका बारेमा जानकारी गराएको सहभागीहरुले बताएका छन् । सो अवसरमा स्वास्थ्य सेवा नेतृत्व, विपद् व्यवस्थापन, क्लिनिकल सञ्चार, अन्तर्राष्ट्रिय सुरक्षा लक्ष्यहरू, परिचालन दक्षता र भावनात्मक बुद्धिमत्ताका सन्दर्भमा विशेषज्ञ तथा प्यानल छलफल गरिएको थियो ।
कार्यक्रमको परिकल्पना काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइना शर्माले गर्नु भएको थियो । कार्यक्रमले नेपाल र भारतका सरकारी तथा गैरसरकारी क्षेत्रका स्वास्थ्यकर्मी, निर्णयकर्ता, चिकित्सक र शिक्षाविद्हरूलाई एकै ठाउँमा ल्याएको थियो । कार्यक्रममा सिएएचओ अन्तर्राष्ट्रिय फोरमका अध्यक्ष, नेपाल अध्यक्ष, महासचिव, सह–प्रबन्ध निर्देशक लगायत भारतबाट सहभागी वक्ता र विज्ञहरूले स्वास्थ्य सेवा सम्बन्धी विषयहरूमा आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नेपाल र भारतका १ सय ७५ भन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा परिषद्, निजी मेडिकल कलेजहरुले सहभागीता जनाएका थिए । यस्तै, डेन्टल कलेज संघ, नेपाल निजी अस्पतालहरूको संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, चिकित्सा शिक्षा आयोग, नेपाल नर्सिङ काउन्सिल, सामाजिक सुरक्षा कोष, नेपाल बीमा बोर्ड, सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, प्रहरी अस्पताल, पाटन चिकित्सा विज्ञान प्रतिष्ठान, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, मेडिसिटी अस्पताल, नर्भिक इन्टरनेशनल अस्पताल, सिभिल अस्पताल, केआईएसटी मेडिकल कलेज, तिलगंगा आँखा प्रतिष्ठान, जानकी मेडिकल कलेज, मणिपाल कलेज पोखरा, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजबाट सहभागीहरु आएका थिए ।
0 प्रतिकृया