सामाजिक सुरक्षा दिवसमा नेशनल मेडिकल कलेजलाई सम्मान
एक्सन खबर
काठमाडौं । नेशनल मेडिकल कलेजलाई सम्मानित गरिएको छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भई आर्थिक वर्ष २०८०/०८१ मा योगदान कर्ताहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्ने मेडिकल कलेज र स्वास्थ्य संस्था मध्ये मधेश प्रदेशबाट सबैभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको भन्दै कलेजलाई सम्मानित गरिएको हो ।
पर्सा, विरगञ्जमा अवस्थित नेशनल मेडिकल कलेज मधेश प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्था हो । कलेजले मेडिकल शिक्षासँगै स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्याउँदै आइरहेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं सामाजिक सुरक्षा दिवसमा अवसरमा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कोषको उपचार सेवा विस्तार गर्ने घोषणा गर्नुभयो । कोषले योगदानकर्ता अस्पतालमा भर्ना भई उपचार गर्दा हाल १ लाख रुपैयाँ उपचार सुविधा उपलब्ध गराउँदै आएकोमा अब १० लाख रुपैयासम्मको उपचारमा ५० प्रतिशत कोषले बेहोर्ने प्रधानमन्त्रीको घोषणा छ ।
औपचारिक योगदानकर्ताको श्रीमान् र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्ष सम्मका छोराछोरीमा समेत विस्तार गरिएको छ । कोषमा हाल ९० वटा स्वास्थ्य संस्थाहरु आबद्ध छन् ।
कार्यक्रममा कोषले सामाजिक सुरक्षा कोषमा सूचीकृत भई सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा कोशी प्रदेशबाट विराट मेडिकल कलेज, बागमती प्रदेशबाट काठमाडौं मेडिकल कलेज, गण्डकी प्रदेशबाट चरक मेमोरियल अस्पताल, लुम्बिनी प्रदेशबाट नेपालगञ्ज मेडिकल कलेज र सुदुरपश्चिम प्रदेशबाट नवजिवन अस्पताललाई समेत सम्मानित गरिएको थियो ।
0 प्रतिकृया