सांसद सुनिल शर्माको नोबेल मेडिकल कलेजले २ सय प्रतिशत लाभांश बाँड्ने
एक्सन खबर
विराटनगर । संघिय सांसद डा. सुनिल कुमार शर्माले सञ्चालन गरेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ । नोवेलको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न नोवेलले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ । प्राइभेट कम्पनीबाट पव्लिक कम्पनी भए यता यो नोवेलको प्रथम बार्षिक साधारणसभा हो । कम्पनीको सभाले अस्पतालको स्तर वृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरू खरिद गरी विश्वस्तरिय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने, स्वास्थ्य सेवा सञ्चालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गनुपर्ने भएकाले सो को लागी आवश्यक पर्ने श्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ ।
यस्तै, कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएको विभिन्न कम्पनी, अस्पताल र शिक्षण संस्थाहरू तथा अन्य उद्देश्य भएका (हाइड्रो इनर्जी, सोलार इनर्जी, पर्यटन उद्योग लगायतका) विभिन्न कम्पनीहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
त्यसो त डा. शर्माकै नेतृत्वमा नोवेलले सामाजिक उत्तरदायित्व अन्तर्गत लाखौं विरामीहरुलाई निःशुल्क स्वास्थ्य शिविरहरुमार्फत उपचार सेवा पुर्याईसकेको छ । डा. शर्माले पूर्वी नेपाल देखि पश्चिम नेपालसम्मका हिमाल, पहाड, तराईका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर गरिसकेका छन् । यो क्रम हाल सम्म निरन्तररुपमा चलिनै रहेको छ भने त्यस्ता शिविरमा जाँच गराई थप उपचार गर्न आर्थिकरुपमा असमर्थ विरामीहरुलाई नोवेल वा काठमाडौं स्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था समेत गरिदिदै आएका छन् ।
अस्पतालमा उपचारकालागि आएका अतिविपन्न विरामीहरुलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने, विपन्न विरामीहरुलाई सहुलियतमा उपचार पुर्याउने कार्य गर्दै आएको छ । विगत १७ बर्ष देखी नोवेलले ओ पी डी दर्ता र चिकित्सक परामर्श सेवा निःशुल्क गरेको छ । डा. शर्मा एकमात्र त्यस्ता सांसद हुन जसले सांसदले पाउने सुविधा नलिने घोषणा गरेका छन् । राज्यबाट एक रुपैयाको सुविधा नलिई जनताको सेवामा लागि परेका छन् ।
नोवेलले २०८१ सालको दशै र तिहारको बीचमा नोवेलमा कार्यरत चिकित्सक, शिक्षक र अन्य कर्मचारीहरु गरी ६० जनालाई ६ दिनको दुवई भ्रमण समेत गराएको थियो । यसअघि पनि प्रशासन, लेखा शाखाका २० जना कर्मचारीलाई थाइल्याण्ड भ्रमणको व्यवस्था गरि सकेको छ ।
0 प्रतिकृया