भक्तपुरको मध्यपुरमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ९५ जना बिरामी लाभान्वित भएका छन् । काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा सांसद शर्माले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ९५ जना बिरामीको स्वास्थ्य जाँच गरिएको हो ।
स्वास्थ्य टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य उपचार गरेको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । मध्यपुर थिमी स्वास्थ्य केन्द्रको भवनमा भएको स्वास्थ्य शिविरमा ७२ जनाको ल्याब परीक्षण, ६८ जनाको ईसीजी, ९० जनाको भिडियो एक्सरे गरिएको छ । शिविरबाट थप उपचाराका लागि २८ जनालाई केएमसी रिफर गरिएको छ ।
सांसद शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क स्वास्थ्य शिविर चलाइरहनु भएको छ । स्वास्थ्य शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा गरिब विपन्न नागरिकले बढी लाभ लिएका छन् । शिविरमा केएमसीका स्वास्थ्यकर्मीहरुले जनरल मेडिसिन, बाल रोग, मानसिक तथा नसा रोग, हाडजोर्नी रोग, प्रसुति तथा स्त्री रोग, शल्यक्रिया, नाक कान घाँटी, दन्त रोग, आँखा सम्बन्धी सेवाहरु प्रदान गर्ने गरेका छन् ।
0 प्रतिकृया