एनपीएलकाे उपाधी जनकपुर बाेल्ट्सलाई, दिपेन्द्र सर्वाेत्कृष्ट खेलाडी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । सुदुरपश्चिम राेयल्सलाई पराजित गर्दै जनकपुरले एनपीएलकाे उपाधी कब्जा गरेकाे हाे ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दा खेल जनकपुरले पाँच विकेटले जित्यो ।
सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ४३ बलमा ६९ रन बनाएका थिए । उनले विनोद भण्डारीसँग ११७ रनको साझेदारी गरेका थिए । विनोद भण्डारीले ३१ बलमा ४१ रनको पारी खेले । यस्तै, ब्रान्डन मक्मुलन र हरमित सिंहले समान १४ रन बनाए ।
जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन विकेट लिए । ललित राजवंशी र जिम्मी नीशमले एक-एक विकेट लिए । ब्याटिङतर्फ जनकपुरका लाहिरु मिलान्थाले विस्फाेटक व्याटिङ गर्दै सर्वाधिक ४९ बलमा ८७ रन बनाए । कप्तान आसिफ शेखले ३३ रन बनाउँदा मोहम्मद मोहसिन ९ रनमा पभेलियन फर्किए । यस्तै हर्ष थाकरले अविजित ३० रन बनाए भने जिम्मी नीशमले ४ रनको पारी खेले ।
बलिङतर्फ सुदूरपश्चिमका सैफ जैब, स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एक विकेट लिए । जनकपुरले यसअघि लिग र क्वालिफायरमा सुदूरपश्चिमसँग पराजय बेहोरेको थियो । दुवै हारको बदला जनकपुरले फाइनलमा लियो । योसँगै विजेता जनकपुरले एक करोड १० लाख र उपविजेता सुदूरले ५१ लाख प्राप्त गरेका छन् ।
प्रतियाेगिताकाे उत्कृष्ट खेलाडीकाे उपाधी सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरे । दीपेन्द्रले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरे ।
प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैब पाए । उनले ५ लाख रूपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट बलर जनकपुरका ललित राजवंशी बन्दै मोटरसाइकल पुरस्कार प्राप्त गरे । उदीयमान खेलाडी कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् । फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ । विजयी टीम र खेलाडीहरू लाई पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवाले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।
0 प्रतिकृया