एभरेष्ट इन्जिनियरिङ कलेजमा हेकरास तालिम सुरू
काठमाडाैं । आजदेखि दुई दिने नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ हेकरास तालिम एभरेष्ट इन्जिनियरिङ कलेजमा सुरू भएको छ । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को आह्वानमा हरेक वर्ष मे महिनाको तेस्रो हप्ता उक्त संगठनका सबै सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने सप्ताह यस वर्ष नेपालमा चैत्र ४ देखि १० गते सम्म परेको छ ।
नेपाल सरकार, जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले कार्यक्रमहरू गर्ने गर्दछन् । सप्ताहको पहिलो दिन जल तथा मौसमविद् समाज-नेपाल (सोहम)ले एभरेष्ट इन्जिनियरिङ कलेज, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि), द स्मल अर्थ नेपाल (सेन) र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको सहकार्यमा बाढी भविष्यवाणी गर्न र जल उत्पन्न विपद्हरूबाट समुदायलाई जोगाउन काम लाग्ने हेकरास सफ्टवेयरको तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
तालिम कार्यक्रममा सरकारी, गैरसरकारी, निजी कम्पनी तथा विश्वविद्यालयका विद्यार्थी गरी अट्ठाइस जना प्रशिक्षार्थीहरू छन् । एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य विरोध रिजाल तथा सहायक प्राचार्य राजन लामाको उपस्थितिमा कार्यक्रम सुरू गरिएको थियो ।
जल तथा मौसमविद् समाज-नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठले हेकरास विश्वभरी नै प्रयोग हुने सफ्टवेयर भएकोले तालिमबाट प्राप्त ज्ञान तथा सीपको प्रयोगबाट नेपालका नदीनालाहरू सम्बन्धी अनुसन्धान गर्न र विश्वका कुनैपनि देशमा सेवा प्रदान गर्ने सक्षम हुने जानकारी दिनुभयाे ।
प्रशिक्षार्थीहरूले आफुले आर्जन गरेको सीप प्रयोग गरी आफ्नो शोध र थेसिस लेखनमा प्रयोग गर्न सकिने अभिव्यक्ति दिए । कार्यक्रमका मूल स्रोत व्यक्ति इन्जिनियर विनय शाक्यले तालिमबाट प्राप्त सीपको निरन्तर प्रयोगबाट प्रशिक्षार्थीहरूको क्षमता थप अभिवृद्धि हुने जनाए ।
0 प्रतिकृया