Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


आजदेखि एसइई, जापानबाट ३७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै

एक्सन खबर
चैत, ६, २०८१


आजदेखि एसइई, जापानबाट ३७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि बिहान ८ बजेबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक एसइई परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने लागेका छन् ।

पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।

परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।

परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

जापानबाट ३७ जनाले एसईई दिँदै

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपपटक पनि जापानबाट ३७ जना परीक्षार्थी सहभागी हुँदै छन् । निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार जापानमा रहेका विद्यार्थीका लागि नेपालबाटै प्रश्नपत्र र उत्तरपुस्तिका पठाइएको छ । उत्तरपुस्तिका नेपालमै झिकाएर परीक्षण गरी नतिजा निकालिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरुले परीक्षा दिन लागेका हुन् ।

जापानको टोकियो रहेको एभरेस्ट इन्टरनेसनल स्कुलमा नेपाली कोर्स पढाइ हुन्छ । नेपाली पाठ्यक्रम अनुसार नै नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ । रोजगार र अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूले सन् २०१३ मा टोकियो सहरमा नेपाली विद्यालय खोल्ने निर्णय गरेका हुन् ।

जापानस्थित नेपाली दूतावासको पहलमा विद्यालय खोलिएको हो । उक्त विद्यालयमा १० कक्षासम्म नेपालबाट नै सम्बन्धन लिएर सञ्चालन गरिएको छ । त्यहाँ कक्षा १० को नेपाली पाठ्यक्रम विदेशी विद्यार्थीहरूले पनि पढ्ने गरेका छन् ।














0 प्रतिकृया