Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


‘टुरिजम प्रोजेक्ट सोकेसले कोशी प्रदेशको सम्भाव्यता उत्खनन् गर्न टेवा दिन्छ’ एलिना मगर

एक्सन खबर
बैशाख, १, २०८१




‘टुरिजम प्रोजेक्ट सोकेसले कोशी प्रदेशको सम्भाव्यता उत्खनन् गर्न टेवा दिन्छ’ एलिना मगर


पर्यटन विषयमा स्नातक र स्नातकाेत्तर गरी एक दशकभन्दा बढी समय धरानलाई कार्य क्षेत्र बनाएर पर्यटन व्यवसायमा आबद्ध भइ कोशी प्रदेशमा पर्यटक भित्र्याउने कार्यमा टेवा पुर्याउने, व्यवसायिक पर्यटनको अवधारणामा दिगो पर्यटनको क्षेत्रमा काम गरिरहनु भएकी साथै सञ्चार क्षेत्रको लामो अनुभव भएकी र पर्यटन विषयमा कलम चलाउने, पर्यटन विषय अध्यापनको अनुभव प्राप्त महिला पर्यटन व्यवसायी एलिना मगरले सञ्चालन गर्नुभएको एलिसन हस्पिटालिटी प्रा.लि.को आयोजनामा हुन गइरहेको ‘टुरिजम प्रोजेक्ट सोकेस–कोशी’ कार्यक्रमको विषयमा मगरसँग एक्सन खबरले गरेको कुराकानीः

‘टुरिजम प्रोजेक्ट सोकेस–कोशी’ ToPS कार्यक्रमको तयारी कस्तो भइरहेको छ ?

‘टुरिजम प्रोजेक्ट सोकेस–कोशी’ को तयारी बृहत रुपमा भइरहेको छ । प्रतिष्पर्धीहरुले फाराम भर्ने प्रक्रिया भइरहेको छ । अहिलेसम्म फाराम भर्नुभएको सहभागीहरुलाई पहिलो चरणको भर्चुअल बैठक पनि गरिसकिएको छ । उहाँहरुलाई प्रोजेक्टको कार्यको लागि आवश्यकीय सहयोगहरु पनि गरिरहेका छौं । 

ToPS कस्तो कार्यक्रम हो ?

पर्यटनको परियोजना तयार गरी प्रदर्शनी गर्ने कार्यक्रम हो । यो कार्यक्रम देशभरि नै गर्ने योजना छ । अहिले कोशी प्रदेशबाट सुरुवात गरेका छौं । पहिलो चरणमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले कोशी प्रदेशमा पर्यटनको सम्भाव्यता अध्ययन गरी प्रदेशमा भएका सम्भावनाको उत्खनन् गरी भुगोल सुहाउँदो प्रोजेक्टहरुका खाँका तयार गरी प्रदर्शन गर्ने कार्यक्रम हो । 

यस कार्यक्रमको उद्देश्य के हो ?

यस कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष पर्यटनको अवयवलाई चलायमान बनाउनु हो । हाम्रो देश प्राकृतिक र सांस्कृतिक बिबिधताले भरिएको छ । यसका बाबजुद पनि सोचेजस्तो लाभ हासिल गर्न सकिएको छैन । अहिले पर्यटनलाई आर्थिक समृद्धिको आधारको रुपमा हेर्न थालिएको छ । तथापि, यसका लागि मूर्त गुरुयोजना बनाइएको छैन । यसैले यस कार्यक्रमले पर्यटनको क्षेत्रमा कोशी प्रदेशको ठोस सम्भाव्यता उत्खनन् गर्ने मूल उद्देश्य हो । यस पहलकदमीले आर्थिक रूपान्तरणको बाटो पहिल्याउन भूमिका खेल्नेछ । प्रोजेक्ट तयार गर्न प्रतिष्पर्धी विद्यार्थीहरूले अवसरहरू पहिचान गर्न र पूर्वाधार योजनाहरू विकास गर्न प्रोजेक्ट सम्बन्धित स्थलको भ्रमण गर्नेछन् ।

प्रतिष्पर्धीले निर्माण गरेको परियोजनालाई एकिकृत गरी विभिन्न सरोकारवालाहरूलाई प्रस्तुत गरिनेछ । यसले युवाहरुलाई आफ्नो क्षेत्रको सम्भाव्यताको पहिचान गर्न मद्दत गर्नेछ । यसका साथै उनीहरुलाई आफ्नै क्षेत्रमा कार्य गर्ने उत्प्रेरणा प्रदान गर्नेछ । साथै, पुँजी भएका व्यक्तिहरुलाई सो प्रोजेक्टमा लगानीका लागि प्रेरित गर्नेछ । यसका कार्यक्रमको उद्देश्य नै सम्भावनाको उत्खनन्, लगानीका लागि ठोस प्रोजेक्ट र लगानीकर्तालाई कोशी प्रदेशमा भित्र्याउनु हो । 

विद्यार्थीहरु यस कार्यक्रममा कसरी सामेल हुन सक्छन् ?

नेपालको जुनसुकै युनिभर्सिटीबाट आर्किटेक्ट इन्जिनियरिङ वा सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका स्नातक वा स्नात्तकोत्तरका विद्यार्थीहरुले यस कार्यक्रमको सोसियल साइट यस कार्यक्रमको फेसबुक पेजमा फाराम उपलब्ध छ । सो फाराम भर्न कम्तिमा ३ देखि बढीमा ५ जनाको समूह बनाएर उहाँहरुले अध्ययन गरिरहनुभएको कलेजबाट सिफारिस पत्र लिएर कार्यक्रमको फाराम भरेर सहभागिताका लागि निवेदन दिन सक्नु हुनेछ । साथै हामीले चरणवद्ध हिसाबले उहाँहरुलाई सहभागी गराउने छौं । 

सहभागिताका लागि कस्तो प्रक्रिया छ चरणवद्ध तरिकाले बताइदिनुस् न ? 

हामीले प्रोजेक्ट सोकेस कार्यक्रममा सहभागिताका लागि केही शर्त तथा नियमहरु छन् । सो अनुरुप विद्यार्थीहरुले सहभागिता जनाउन सक्नुहुनेछ । यसैगरी हामीले प्रतिस्पर्धाका चरणहरू निर्माण गरेका छौंः

–पहिलो चरणः आवेदन

मितिः २०८२ वैशाख १६ गते मंगलबार बेलुका ४ः०० बजेसम्म 

–दोस्रो चरणः भर्चुअल ओरियन्टेसन

मितिः २०८२ वैशाख १७ गते बुधबार बेलुका ८ः१५ बजे

–तेस्रो चरणः अवधारणा प्रस्ताव पेश 

मितिः २०८२ वैशाख १९ गते शुक्रबार बेलुका ४ः०० बजेसम्म

–चौथो चरणः उत्कृष्ट १० अवधारणा छनोट 

मितिः २०८२ वैशाख २० गते शनिवार

दिउसोः ११ः०० बजेदेखि

(काठमाडौं बाहिरका विद्यार्थीले अवधारणाको प्रेजेण्टेसनको भिडियो बनाएर पठाउनुपर्नेछ ।)

छनौटका निर्णायक

१) आर्किटेक्ट इन्जिनियरिङ बिधा–१

२) सिभिल इन्जिनियरिङ बिधा–१

३) पर्यटन बिधा–१

४) अर्थ (बैकिङ) बिधा –१

५) लगानीकर्ता–१

प्रतिष्पर्धी छनौटका बिधि

१) नवप्रवर्तन र सृजनशीलता (Innovation & Creativity) – २५%

२) प्राविधिक सम्भाव्यता (Technical Feasibility) – २५%

३) आर्थिक एवं वातावरणीय प्रभाव (Economic & Environmental Impact) – २०%

४) प्रस्तुति  (Presentation) – १०%

५) पर्यटनमैत्री योजना (Tourism–Friendly Plan) – २०%

–पाँचौं चरणः प्रोजेक्ट तयार 

उत्कृष्ट १० टिमले आफ्नो टिमलाई दिइएको मार्गदर्शकसँग समन्वय गरी आफ्नो प्रोजेक्टको तयारी गर्ने सो कार्यका लागि अनिवार्य रुपमा सम्बन्धित स्थानमा जानुपर्नेछ । प्रतिष्पर्धीले प्राविधिक ड्रइङ, थ्रिडि मोडेल, वा एनिमेसन भिडियो, पावर पोइण्ट समावेश गर्नु पर्नेछ । 

प्रोजेक्ट बुझाउने

मितिः २०८२ जेष्ठ ५ गते सोमवार

–छैठौं चरणः प्रोजेक्ट प्रेजेण्टेसन, अन्तिम प्रस्तुती र बिजेता छनौट 

मितिः २०८२ जेष्ठ ९ गतेदेखि जेष्ठ ११ गतेसम्म 

स्थानः होटल जी रामायणा, कालधारा सोह्रखुट्टे

मितिः बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म 

यसरी हामीले निवेदकबाट प्रतिष्पर्धीसम्म बन्ने प्रक्रिया चरणवद्ध हिसाबले गरेका छौं । 

प्रतिष्पर्धीलाई के व्यवस्था छ ?

१० वटा प्रोजेक्टबाट प्रथम, द्धितिय र तृतिय छुट्याउने छौं । पहिलोलाई नगद रू. १ लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार र सहभागी प्रत्येक टिमलाई १० हजार रुपैयाँ नगद र प्रमाणपत्र वितरण गरिनेछ । 

विद्यार्थीले प्रोजेक्ट कसरी तयार गर्नुहुन्छ ?

हाम्रो कार्यक्रमको थिम भनेको नै पर्यटन वा पर्यटनसम्वद्ध प्रोजेक्ट बैंक निर्माण हो । सहभागीले पर्यटनसँग सम्बन्धित प्रोजेक्ट तयार गर्नुपर्ने हुन्छ । यसका लागि उहाँहरुलाई हामी पर्यटनका आधारभूत ज्ञान दिन्छौं । यसैगरी उहाँहरुलाई प्रोजेक्ट धरातलमैत्री होस् र प्रोजेक्ट तयार गर्न सजिलो होस् भन्ने हेतुले पर्यटनसँग सम्बन्धित विज्ञ तथा व्यवसायीहरु र उहाँको प्रोजेक्ट सुहाउँदो भुगोलका पर्यटन जानकारहरुसँग सम्पर्क स्थापित गराइदिन्छौं । त्यसबाट पनि उहाँहरुले आफ्नो प्रोजेक्ट अनुकूल सूचना लिएर कन्सेप्ट पेपर तयार गर्नुहुन्छ । र, हाम्रो विज्ञ निर्णायक टोलीले प्रेजेण्टेसनबाट १० वटा बेष्ट कन्सेप्ट पेपर छनौट गरी उहाँहरुलाई १–१ जना मार्गदर्शक प्रदान गर्नेछौं । उहाँको मार्गदर्शनमा रहेर स्थलगत अध्ययन गरी प्रोजेक्ट तयार गर्नुहुनेछ । 

कस्ता खालको प्रोजेक्ट तयार होला त ? 

अहिलेका युवाहरु एकदमै एड्भान्स हुनुहुन्छ । उहाँहरु भनेको भोलिको हाम्रो जनशक्ति हो । यसैले उहाँहरुलाई उत्प्रेरित गर्ने र नयाँ नयाँ आइडिया उजागर गर्न र उहाँहरुलाई तिर्खान सकेको खण्डमा नविनतम आइडियाहरु उजागर हुन्छ । यसैले उहाँहरुलाई गाइड गर्नका निम्ति हामीले पर्यटनका विज्ञहरु मार्गदर्शकका रुपमा प्रदान गर्नेछौं । मार्गदर्शकको विज्ञता र विद्यार्थीहरुको आइडियालाई फ्युजन गरी भुगोल सुहाउँदो प्रोजेक्टहरुको खाँका तयार हुनेमा विश्वस्त छौं । 

प्रदर्शनी काठमाडौंमा किन राखिएको हो ? 

पर्यटन भनेको नै बाहिरबाट पर्यटन भित्र्याउने हो । बिना पर्यटक पर्यटनको कल्पना गर्न सकिन्न । यसैले कोशी प्रदेशलाई केन्द्रसम्म जोड्ने हाम्रो अभियान पनि हो । आफ्नो क्षेत्रको प्रचार जति टाढासम्म फैलाउन सक्यो उत्ति नै पर्यटक हामीकहाँ भित्रिनु हुन्छ । भर्खरै कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष २०८२ को उद्घाटन गर्नुभएको छ । २०८२ मा अहिलेभन्दा गुणात्मक र संख्यात्मक हिसाबले पर्यटनको अवयव हुन जरुरी छ । यस कार्यक्रममा कोशी प्रदेशको परियोजना सोकेस गरेर कोशी प्रदेशमा लगानीकर्ता भित्र्याउन पहल गर्ने र कोशी प्रदेशको प्रचार गरी कोशी प्रदेशका व्यक्तिहरु काठमाडौंमा रहेर पर्यटन व्यवसाय गरिरहुन भएको छ । उहाँहरुलाई कार्यक्रमको दोस्रो दिन कोशी प्रदेशमा पर्यटक भित्र्याउन तपाइको तर्फबाट के गर्न सक्नुहुन्छ ? भन्ने विषयमा प्यानल डिस्कस गराएर कोशीमा पर्यटक भित्र्याउन पहलकदमी गर्नेछौं ।

प्रदर्शनीमा कस्ता खालका अवलोकनकर्ता आउनुहुन्छ ? 

प्रतिष्पर्धी टिमले तयार गर्नुभएको प्रोजेक्ट सोकेस यहि जेष्ठ ९ गतेदेखि ११ गतेसम्म काठमाडौंको सोह्रखुट्टेस्थित जी रामायणा होटलमा हुनेछ । सो सोकेसमा लगानी बोर्ड, संघीय सरकार, प्रदेश सरकार, स्थानीय निकाय, राजनीतिक दलका व्यक्तित्वहरु, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, पर्यटन व्यवसायी, पर्यटनमा कार्य गरिरहेका संघसंस्थाहरुका प्रतिनिधीहरु, एनआरएन, इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु, माध्यमिक तह अध्ययनरत विद्यार्थीहरु करिब १० हजारको संख्यामा अवलोकनकर्ताहरुले अवलोकन गर्नुहुनेछ ।













0 प्रतिकृया