यस्ताे छ सरकारकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।
नीति तथा कार्यक्रममा जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवर्द्धन, विद्युत्को अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, स्वास्थ्य बीमा कार्यक्रमकाे प्रभावकारीता, उद्मशीलता र सीपमा आधारित औद्योगिक विकास प्रोत्साहन, रेल तथा जल यातायातकाे विकास, सामुदायिक र निजी विद्यालयकाे पाठ्यक्रममा एकरूपता लगायतका विषयहरू समेटिएका छन् ।
यस्तै विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, नेपाललाइ ध्यान पर्यटनकाे केन्द्र बनाउने, नेपाल वायुसेना निगमकाे पुनर्संरचना गरिने, इन्टर्नलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली, आन्तरिक रोजगारी दशक घोषणाका महत्त्वपूर्ण विषयहरू समेटिएका छन् ।
संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनमार्फत 'समृद्ध नेपाल सुखी नेपाली' को सपनालाई साकार पार्ने उद्देश्य आर्थिक वर्ष २०८२/८३ को प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।
श्रम क्षेत्रमा जनशक्तिको अभाव कम र सीपयुक्त शक्ति तय गर्न 'उद्यमशीलता मैत्री शिक्षा' नारा अघि सारिएको छ । श्रम क्षेत्रमा रहेको सीपयुक्त श्रम शक्तिको अभाव र सीपहीन श्रम शक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्नका लागि हालको पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गर्ने सरकारकाे लक्ष्य छ ।
स्वास्थ्य क्षेत्रमा सरकारले नयाँ गर्न खाेजेकाे छ । 'निरोगी नेपाल अभियान' अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरेको बताइएको छ । रोगबाट बच्न खोप, स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य जाँच र सफाइ जस्ता प्रतिकारात्मक उपायमा जोड दिने, रोग लागेपछि औषधि, शल्यक्रिया वा अन्य चिकित्सकीय विधिबाट उपचार गर्ने भनिएको हो ।
यस्तै सार्वजनिक प्रशासनमा सुधार ल्याउनको लागि 'फेस लेस सेवा' नारा तय गरिएकाे छ । नागरिकसँग प्रत्यक्ष नभेटेर पनि केही सरकारी सेवा अनलाइन वा घरबाटै गर्न सकिने बनाइने भएकाे छ ।
हेर्नुहाेस् सरकारकाे नीति तथा कार्यक्रमकाे पूर्णपाठ
0 प्रतिकृया