‘भारत-पाकिस्तान द्वन्द्वमा नेपालकाे भूमिका असंलग्न रहनुपर्छ’ सांसद भगबती चाैधरी
काठमाडौं । नेकपा एमालेकी सांसद पूर्वमन्त्री भगबती चौधरीले भारत र पाकिस्तान बीचको द्वन्द्वमा नेपालले तटस्थ भूमिका खेल्नु पर्ने बताउनु भएको छ । आज प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै सांसद चौधरीले नेपालले अंगिकार गर्दै आएकाे असंलग्न परराष्ट्र नीति अवलम्बन गरिनु पर्ने बताउनु भएकाे हाे ।
सांसद चौधरीले भन्नुभयो ‘भारत र पाकिस्तानबीच उत्पन्न हुन सक्ने कुनै पनि प्रकारको सैन्य द्वन्द्वको सन्दर्भमा नेपालले आफ्नो दीर्घकालीन स्वतन्त्र, स्वतन्त्रतापूर्ण र तटस्थ परराष्ट्र नीतिको पालना गर्दै संयमित तथा तटस्थ भूमिका निर्वाह गर्न आवश्यक छ । सहअस्तित्व, पारस्परिक सम्मान र मित्रवत सम्बन्धमा आधारित नेपालको परराष्ट्र नीति कुनै पनि पक्षको छैन, दुइ देश विचकाे द्वन्द्वको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्छ ।’
ऐतिहासिक, भौगोलिक र राजनीतिक दृष्टिले भारत र पाकिस्तान दुवैसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने नेपालका लागि तटस्थता मात्र नीति होइन, आवश्यकताको विषय पनि भएकाे बताउँदै सांसद चाैधरीले यस सन्दर्भमा नेपालले क्षेत्रीय शान्ति, स्थायित्व र सहकार्यलाई प्राथमिकता दिँदै कुनै पनि अन्तर्राष्ट्रिय वा क्षेत्रीय द्वन्द्वमा हस्तक्षेप नगर्ने स्पष्ट नीति अवलम्बन गर्नुपर्नेमा जाेड दिनुभयाे ।
‘हामीले दुइ देश विचकाे विवादमा न्यायाेचित र मानवअधिकारकाे संरक्षण हुनेगरी हामीले दृष्टिकाेण बनाउनु पर्दछ ।’ सांसद चाैधरीले बताउनु भयाे । पछिल्ला घटनाक्रमले भारत–पाकिस्तानबीचको सम्बन्ध तनावग्रस्त बन्दै गएको छ । सन् २०१९ को पुलवामा घटनापछि दुवै मुलुकबीच भएको बालाकोट एयर स्ट्राइक र त्यसपछिको सैन्य गतिविधिको पुनः दोहोरिने खतरा विश्लेषकहरूले औंल्याएका छन् । यस्तो पृष्ठभूमिमा नेपालले संयमता र शान्तिको पक्षमा लिएको अडानले क्षेत्रीय सन्देश बोक्ने विश्वास गरिएको छ ।
भारत र पाकिस्तानबीचको तनाव कुनै पनि बेला गहिरिन सक्ने खतरा रहेको र त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव अन्य दक्षिण एशियाली मुलुकहरूमा समेत पर्न सक्ने देखिन्छ । नेपालले विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वमा तटस्थ भूमिका निर्वाह गर्दै आएको छ, जसले उसको असंलग्न परराष्ट्र नीति प्रतिवद्धतालाई स्पष्ट पार्दछ ।
सांसद चाैधरीले नेपालमा केहि विकास भइरहेकाे छैन भन्ने गलत भाष्य सृजना भइरहेकाेमा चिन्ता व्यक्त गर्दै उद्मशीलता, राेजगारी, आर्थिक सुदृढीकरण, युवा स्वराेजगार र राष्ट्रियताका सवालमा सबै पक्ष एक हुनु पर्नेमा पनि जाेड दिनुभयाे ।
सरकारले गरेका हरेक काम र विकास निर्माणमा नकारात्मक टिप्पणी मात्र गर्नु गलत रहेकाे तर्क गर्दै भविष्यका लागि गरिएका लगानी र याेजनाहरूलाइ हेरेर चाैपट्टै विग्रियाे, नराम्राे भयाे भन्दै प्रचारबाजी गर्न नहुने जिकीर गर्नु भयाे । उहाँले अहिलेकाे नीति तथा कार्यक्रममा युवाहरूलाइ स्वराेजगार बनाउने, स्टार्टटप कार्यक्रमलाइ प्रवर्द्धन गर्ने, कृषि उद्मम, अध्ययन गर्दा गर्दै काम गर्न पाइने लगायतका महत्वपूर्ण विषयहरू समावेश भएकाे पनि बताउनु भयाे ।
0 प्रतिकृया