मृत्यु कुरिरहेका डाँगीको जीवनमा आशाको किरण बने सांसद डा. सुनिल शर्मा
एक्सन खबर
माेरङ । जीवनभर मेहनत गरेर गुजारा गर्दै आएका मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–४ निवासी ६२ वर्षीय धन बहादुर डाँगी पछिल्ला केही महिनादेखि हाइड्रोसिल रोगले पीडित थिए । तर अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उनी उपचार गर्न असमर्थ थिए र पीडामा मृत्यु कुरेर बस्न बाध्य थिए ।
यस दुःखद अवस्थाको जानकारी पाएपछि स्थानीय समाजसेवी कोपिला कार्कीले मानवीय सम्वेदना प्रकट गर्दै यो विषय नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्मा समक्ष पुर्याइन् ।
खबर प्राप्त गर्ने वित्तिकै डा. शर्माले तुरुन्तै नोबेल मेडिकल कलेजमा सम्पर्क गरी आवश्यक निर्देशन दिए । उनको पहलमा तुरुन्तै स्वास्थ्यकर्मी टोलीसहितको एम्बुलेन्स कानेपोखरी पठाइयो, जहाँबाट बिरामी डाँगीलाई अस्पताल पुर्याइयो ।
हाल धन बहादुर डाँगीको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार भैरहेको छ । चिकित्सकहरूका अनुसार उनको अवस्था सुधारोन्मुख छ र छिट्टै स्वास्थ्यलाभ हुने अपेक्षा गरिएको छ ।
डा. सुनिल शर्मा प्रतिनिधिसभाका ती विरलै भेटिने सांसदमध्ये पर्छन् जसले अहिलेसम्म तलबभत्ता नलिने निर्णय गर्दै आएका छन् । उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् । यस्ता शिविरबाट उपचार सम्भव नभएका बिरामीहरूलाई उनी काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाउने गर्छन् ।
उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत स्थापना गरिएको छ । पार्टीको पहिचान नहेरी सबै नेपालीलाई समान सेवा दिने उहाँको प्रतिबद्धता आज पनि उदाहरणीय छ ।
हालै उनले बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने निजी लगानीमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन् । डा. शर्माले देखाएको मानवीयताको यो अनुकरणीय उदाहरणले ‘नेता भनेको जनताको साँचो अभिभावक हो’ भन्ने सन्देश दिएको छ । यस कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाएको छ र कठिन अवस्थामा रहेका एक वृद्ध नागरिकको जीवनमा नयाँ आशाको किरण बाँचेको छ ।
0 प्रतिकृया