एभरेष्ट इन्जिनियरिङ कलेजकाे प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त
एक्सन खबर
ललितपुर । पोखरा विश्वविद्यालयको सम्बन्धनमा ललितपुरको सानेपामा सञ्चालित देशकै उच्चस्तरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन भएको छ । झन्डै चार वर्षदेखि प्राचार्य पदमा रही कलेजको नेतृत्व गर्दै आउनुभएका इन्जिनियर विरोध रिजालको पदावधी सकिएपछि सोही कलेजको अनुसन्धान समितिका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठ प्राचार्य पदमा नियुक्त हुनुभएको हो ।
विगत आठ महिनादेखि कलेजमा अनुसन्धानको वातावरण निर्माण गर्दै आउनुभएका प्रा.डा. श्रेष्ठ कलेज सञ्चालक समितिको निर्णय अनुसार प्राचार्यमा नियुक्त हुनु भएकाे हाे । उहाँ एभरेष्ट इन्जिनियरिङ कलेज अघि पाेखरा विश्वविद्यालय अन्तर्गतकै नेपाल इन्जिनियरिङ कलेज (नेक) मा २९ वर्ष काम गर्नु भएकाे थियाे ।
अमेरिकाबाट अध्ययन सकाई नेपाल फर्केर सन् १९९४ मा नेकमा सेवा प्रवेश गरेका प्रा.डा. श्रेष्ठ उक्त कलेजमा प्राचार्य पदमा पहिलो पटक सन् २००९ देखि २०१२ सम्म र दोस्रो पटक सन् २०१८ देखि २०२३ सम्म कार्यरत हुनुहुन्थ्याे । नेकमा स्वामित्व विवाद भई कलेज बन्द हुने अवस्थामा पुग्दा २०७५ सालमा प्रा.डा. श्रेष्ठले नै कलेजकाे नेतृत्व लिई शैक्षिक, व्यवस्थापकीय र कानुनी लडाइमा उभिनु भएकाे थियाे ।
स्नातक र स्नातकोत्तर अध्ययन अमेरिकाबाट र विद्यावारिधी जापानबाट गर्नु भएकाे प्रा.डा. श्रेष्ठलाई नेपाल इन्जिनियरिङ परिषद्ले प्रोफेसनल इन्जिनियर र भारतको आइओईले चार्टर्ड इन्जिनियरको उपाधि दिएको छ ।
हाल जल तथा मौसम विद् समाज नेपालका अध्यक्षसमेत रहेका प्रा.डा. श्रेष्ठले नेपालको जलश्रोत सदुपयोगका विभिन्न आयोजनाहरूमा प्रविधिक सेवा दिइसक्नु भएको छ । देश विदेशमा कयौं अनुसन्धानात्मक सामग्रीहरू प्रकाशित गरिसक्नु भएका प्रा.डा. श्रेष्ठको नेतृत्वमा एभरेष्ट इन्जिनियरिङ कलेजले शैक्षिक तथा अनुसन्धान क्षेत्रमा कलेजलाई थप उचाईमा पुर्याउने विश्वास लिएकाे कलेजमा प्रमुख कार्यकारी अधिकारी अरुणकुमार भण्डारीले बताउनु भयाे ।
0 प्रतिकृया