काठमाडौं मेडिकल कलेजको ऐतिहासिक सफलता: ब्रेन डेड अंगदान सफल
एक्सन खबर
काठमाडाैं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्नो चिकित्सा इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै ब्रेन डेड डोनरमार्फत सफल अंगदान सम्पन्न गरेको छ । यो नेपालमा अहिलेसम्म मात्र छैटौँ पटक भएको दुर्लभ र संवेदनशील प्रक्रिया हो, जसमा ब्रेन डेड घोषित व्यक्तिबाट जीवनदायी अंगहरू (कलेजो र दुईवटा मिर्गौला) दान गरिएका हुन्।
मृतक १८ वर्षीय दोर्जे मान तामाङ धादिङ जिल्लाको गजुरी गाउँपालिका–७ निवासी थिए । काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका क्रममा चिकित्सकीय परीक्षणपछि ब्रेन डेड घोषणा गरिएको थियो । त्यसपछि, उनका बुबा र दाजुको सहमतिमा अंगदान प्रक्रिया सम्पन्न गरिएको हो ।
केएमसीका वरिष्ठ चिकित्सक डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अंगहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेको थियो । ती अंगहरू दुईजना बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी प्राप्त भएको छ ।
यो उपलब्धि केएमसीको चिकित्सा सेवा तथा सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धताको प्रतिविम्ब हो । यसले केएमसीलाई अंग प्रत्यारोपण सेवामा अग्रपंक्तिमा उभ्याउनुकाे साथै समग्र नेपाली स्वास्थ्य प्रणालीमा अंगदानबारे जनचेतनामा समेत सकारात्मक प्रभाव पारेको छ ।
केएमसीको यो सफलता नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको नेतृत्व र दूरदृष्टिको प्रतिफल हो । केएमसी डा. शर्माको स्वामित्वमा रहेका प्रतिष्ठित संस्थाहरूमध्ये एक हो, जसलाई उनले चिकित्सा सेवामार्फत सामाजिक सेवा र जनकल्याणको केन्द्रबिन्दुमा रूपान्तरण गरेका छन् ।
डा. शर्मा प्रतिनिधिसभाका तलब भत्ता नलिने एक मात्र सांसद हुनुहुन्छ । उहाँले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ ।
उहाँकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उहाँले जनाउनु भएकाे छ ।
हालै सांसद शर्माले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गर्नुभएकाे थियाे । साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसक्नु भएकाे छ । उहाँका यी मानवीय कार्यहरूले ‘नेता भनेको जनताको साँचो अभिभावक हो’ भन्ने सन्देशलाई बलियो बनाएका छन् ।
अब लिभर ट्रान्सप्लान्टतर्फ तयारी
केएमसीले अब लिभर ट्रान्सप्लान्ट जस्तो जटिल र जीवनरक्षक शल्यक्रिया सञ्चालन गर्न तीव्र तयारी गरिरहेको छ । आवश्यक पूर्वाधार निर्माण, दक्ष चिकित्सक तथा प्राविधिक जनशक्ति व्यवस्थापन र अत्याधुनिक उपकरणहरूको समायोजन तीव्र गतिमा अगाडि बढिरहेको केएमसीले जनाएको छ ।
यो पहलले नेपाली चिकित्सा क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ, जसले गम्भीर अवस्थाका बिरामीहरूलाई नयाँ जीवन दिनेछ ।
0 प्रतिकृया