गढी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई दन्त उपहार
एक्सन खबर
सुनसरी ।सुनसरीकाे गढी गाउँपालिका वडा नं. २, औरवानीस्थित स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिकहरूकाे लागि एक विशेष दन्त स्वास्थ्य उपहार कार्यक्रम राखिएकाे छ । कार्यक्रममा वडाभित्रका ज्येष्ठ नागरिकहरूलाई नि:शुल्क दन्त परीक्षण, उपचार तथा दाँत नभएकाहरूलाई निःशुल्क दाँत बनाइदिने सेवा दिइएकाे थियो ।
पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, सुनसरी क्षेत्र नं. ३ कि सांसद भगबती चौधरीको पहल तथा सक्रिय समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । मन्त्री भएको बेला देशभर नै ज्येष्ठ नागरिकहरूकाे लागि दन्त शिविर सञ्चालन गर्ने लक्ष्य राखे पनि बजेट अभावमा संभव भएकाे थिएन । यद्यपि, तत्कालिन मन्त्री चाैधरीले एकाध स्थानीय तहमा नमूना कार्यक्रमका रूपमा कार्यक्रम राख्नु भएकाे थियाे । साेही अनुरूप गढी गाउँपालिकामा सञ्चालन गरिएकाे निःशुल्क दन्त शिविरबाट करिब एक सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।
ज्येष्ठ नागरिकको स्वास्थ्य र सम्मानप्रति राज्यको उत्तरदायित्व रहेको बताउँदै सांसद चाैधरीले यस्ता कार्यक्रमले उनीहरूको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताउनु भयाे । ‘दाँत हाम्राे शरीरकाे महत्वपूर्ण अंग हाे, दाँतकाे काम खाना चपाउने मात्र हैन यसले हाम्राे पाचनप्रणाालीमा समेत प्रत्यक्ष सराेकार राख्ने गर्दछ । धेरै ज्येष्ठ नागरिकहरूले दाँत नहुँदा इच्छा लागेकाे खानेकुरा खान नसकेकाे, पाचन शक्ति कमजाेर भएकाे, मनलागेर हास्न समेत नपाएकाे दुखेसाे गर्नु भएकाे थियाे । दन्त उपहार कार्यक्रमले थाेरै भएपनि उहाँहरूलाई सहज हुन्छ भन्ने अपेक्षा लिएकाे छु ।’ सांसद चाैधरीले भन्नुभयाे ।
शिविरमा सहभागी ज्येष्ठ नागरिकहरूलाई दन्त परीक्षण, परामर्श, औषधि वितरण तथा केहीलाई आवश्यकताअनुसार दाँत निकाल्ने तथा उपचार सेवा समेत प्रदान गरिएको थियो ।
पूर्वाञ्चल डेन्टल हस्पिटलका स्वास्थ्यकर्मीहरूको टोली, दन्त चिकित्सक, स्वयंसेवक तथा वडा कार्यालयको सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा नागरिकहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रम महिला मन्त्रालयको आर्थिक सहयोग, गढी गाउँपालिका सँगको समन्वयमा पूर्वाञ्चल डेन्टल हस्पिटल इटहरीले आयोजना गरेको हो ।
0 प्रतिकृया