हिमाल अस्पताल र डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला
एक्सन खबर
काठमाडाैं । उपभोक्ता अदालतले हिमाल हस्पिटल र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ । उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा अस्पताल र उपचारमा संलग्न डाक्टरलाई क्षतिपूर्ति तिराउने फैसला भएकाे हाे ।
बिहीबार रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने फैसला गरेको छ । अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ र चिकित्सकले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरिएकाे छ ।
२o२०७९ माघ २३ गते गंगा गौतमले आफ्नो २८ महिनाकी छोरी प्रशंसालाई उपचारका लागि अस्पताल लगेको र उपचारमा लापरबाही गरिएका कारण उनको मृत्यु भएको दाबी गर्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेका थिए । त्यसअघि उनीहरूले अस्पतालमै लामो समय आन्दोलन गरेकाेमा अस्पतालले कुनै रेस्पाेन्स गरेकाे थिए ।
मेडिकल काउन्सिलले भने उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर्याउँदै चेतावनी दिने निर्णय गरेको थियो । '२८ महिनाकी प्रशंसा गौतम नामकी बालिकालाई हिमाल अस्पतालमा चिकित्सकको सल्लाह बमोजिम नियमित चेकजाँच र उपचार गरेको भएपनि रोगका कारण उत्पन्न जटिलता हुँदासम्म थप कुनै जाँच नगराएको र बिरामीको अवस्था जटिल भइ अन्यत्र प्रेषण गर्दा सावधानी र न्युनतम उपचार विधि नअपनाएको र इन्ट्युबेशन नगरेको देखिएको हुनाले वालरोग विशेषज्ञ डा. जयदेव यादवलाई अब आइन्दा स्तरीय उपचार विधि प्रयोग गर्न तथा प्रेशण गर्दा उचित सावधानी अपनाउन निजलाई चेतावनी दिने ।' काउन्सिलको निर्णयमा भनिएको थियाे ।
काउन्सिलले चेतावनी मात्रै दिने निर्णय गरेपछि गंगा गाैतमले जिल्ला अदालत काठमाडौंमा क्षतिपूर्तीको मुद्दा दायर गरेकाेमा उपभोक्ता अदालत गठन भएपछि गत चैतमा उक्त मुद्दा उपभोक्ता अदालतमा सरेको थियो । अदालतले काउन्सिलको निर्णय समेत राखेर उक्त फैसला गरेको हो ।
यसअघि उपभाेक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेकाे थियाे ।
0 प्रतिकृया