काठमाडाैं मेडिकल कलेजकाे सफलताः श्रीमतीकाे कलेजाे श्रीमानमा प्रत्याराेपण
एक्सन खबर
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा क्षेत्रमै ऐतिहासिल सफलता हासिल गरेको छ । कलेजले पहिलोपटक सफलतापूर्वक कलेजो (लिभर) प्रत्यारोपण गरेर नेपाली चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण सफलता प्राप्त गरेको हो ।
सोमबार कलेजले पत्रकार सम्मेलन नै गरेर डडेल्धुराको अमरगढी नगरपालिका–५ का ४० वर्षीय प्रदीप नगरकोटीमा कलेजो प्रत्यारोपण गरिएको जानकारी गराएको छ । प्रदीपलाई उनकी ३३ वर्षीया श्रीमती यशोदा कुमारी देउवाले कलेजो दान गर्नुभएको हो ।
कलेजो प्रत्यारोपणको नेतृत्व केएमसीका वरिष्ठ सर्जन डा. रोशन घिमिरेको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरेको हो । प्रत्यारोपणमा डा. प्रविण थापा, डा. सागर पौडेल, डा. मोना शर्मा, डा. विजय लगायतको महत्वपूर्ण भूमिका रहेको भन्दै कजेलका सञ्चालक समेत रहनुभएका सांसद डा. सुनिल शर्माले उनीहरुलाई धन्यवाद दिनुभयो ।
‘हामीले २ महिना भित्र जुन कामहरु गर्यौं, यसले नेपालको मेडिकल विधामा छलाङ् मार्न हामी सफल भएका छौं । यसभन्दा अगाडी मृत मस्तिष्कबाट जिवित मान्छेमा नेपालीहरु मात्र सहभागी भएर मस्तिष्क ट्रान्सप्लान्ट गर्न सफल भएका थियौं, अहिले लिभर ट्रान्सप्लान्ट गर्न सफल भयौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रीले अङ्ग प्रत्यारोपणको अनुमति प्रदान गरेकोमा सांसद डा. शर्माले धन्यवाद दिँदै भन्नुभयो, ‘अहिलेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलजीलाई धन्यवाद ज्ञापन गर्दछौं । तपाईले गर्नुभएको काम हाम्रो निम्ति नभएर दूरदराजबाट आउनु भएका गरिब बिरामीहरुको निमित्त जीवन बरदार थियो ।’ डा. शर्माले भन्नुभयो ।
कलेजो प्रत्यारोपण अत्यन्तै महंगो भएको बताउँदै डा. शर्माले कलेजो प्रत्यारोपणको सम्पूर्ण शुल्क मिनाहा गरिएको जनाउनु भयो । कलेजो प्रत्यारोपण सफल भएपछि नगरकोटी स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । सांसद डा. शर्माले कलेजो प्रत्यारोपण पूर्णरुपमा निको नहुञ्जेल कलेजले फलोअप गरिरहने पनि बताउनु भयो ।
कलेजो प्रत्यारोपण गर्नुभएकी श्रीमती यशोदा कुमारी देउवाले आफुहरुको लागि सांसद सुनिल शर्मा जिउँदो भगवान बनेर आएको बताउनु भयो । केएमसीले स्वास्थ्य सेवामा पछिल्लो समय भित्रिएका नविनतम स्वास्थ्य उपचार प्रविधिहरु भित्र्याए पछि नेपालमै अङ्ग प्रत्यारोपणको सेवाहरु सहज बनेको छ ।
0 प्रतिकृया