उबुकोन एसिया सम्मेलनका लागि नेपाल इन्जिनियरिङ कलेज र उबुन्टु नेपाल विच सहकार्य
एक्सन खबर
काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र उबुन्टु नेपाल विच उबुकोन एसिया सम्मेलनका लागि सहकार्य भएको छ । आगामी भदौ १३–१४ गते काठमाडौंमा हुन गइरहेको पाँचौं उबुकोन एसिया २०२५ को अनुसन्धान साझेदारको रूपमा सहकार्य गर्न समझदारी भएको हो ।
उबुन्टु नेपालको आयोजनामा हुन गइरहेको सम्मेलन ओपन सोर्स प्रविधिमा रुचि राख्नेहरुको कला, क्षमता र प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण प्लेटफर्म भएकोले दुई पक्षविच सहकार्य भएको हो । सहकार्य पत्रका कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा उबुन्टु नेपालका कम्युनिटी लीड आदित्य सिंहले हस्ताक्षर गर्नु भएको छ ।
यस वर्षको सम्मेलनमा तीस भन्दा बढी विज्ञ वक्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स÷मेशिन लर्निङ, क्लाउड कम्प्युटिङ, डेभअप्स, साइबर सुरक्षा, इन्टरनेट अफ थिङ्स लगायतका विषयमा प्रस्तुतिहरु दिनेछन् । डेभलपर, इन्जिनियर, स्टार्टअप संस्थापक, विद्यार्थी, शिक्षक तथा ओपन–सोर्स प्रविधिमा काम गर्नेहरुको लागि सम्मेलन महत्वपूर्ण रहेको भन्दै नेकका प्राचार्य दुर्गा प्रसाद भण्डारीले सम्मेलनले स्थानीय तथा अन्तर्राष्ट्रिय समुदायहरूसँग नेटवर्किङ गर्ने अवसर प्रदान गर्ने विस्वास व्यक्त गर्नुभयो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन होस् अथवा पाठ्यक्रम अनुसार व्यवहारिक, सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट राष्ट्रिय अन्तराष्ट्रिय एक्सपोज प्रदान गर्न सूचना प्रविधि तथा इन्जिनियरिङ विधामा काम गरिरहेका विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको छ ।
0 प्रतिकृया