Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


नेपाल इन्जिनियरिङ कलेजद्वारा समुदाय छात्रवृत्ति सार्वजनिक

एक्सन खबर
साउन, २२, २०८२


नेपाल इन्जिनियरिङ कलेजद्वारा समुदाय छात्रवृत्ति सार्वजनिक

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाकारुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८२/०८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिब, विपन्न छात्रछात्राहरूलाई लक्षित गरी पहिलो पटक छुट्टै समुदाय छात्रवृत्ति समेत प्रदान गरिने भएको हो ।

कलेजले मुलुकका सातै प्रदेशबाट एक/एक जना गरी सात जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने पनि बताएको छ । कलेज प्रशासनका अनुसार प्रदेश छात्रवृत्ति अन्तर्गत प्रत्येक प्रदेशबाट चयन भएका एक/एक जना जेहेन्दार विद्यार्थीलाई शत प्रतिशतसम्म शुल्क छुट दिइनेछ । 

यस छात्रवृत्तिका लागि एसइइ र कक्षा १२ मा उच्च अंक ल्याएका, आर्थिक रूपले कमजोर तर, इन्जिनियरिङ अध्ययन गर्न रुचि भएका विद्यार्थीलाई प्राथमिकता दिइने कलेजले जनाएको छ । समुदाय छात्रवृत्ति अन्तर्गत सरकारी सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि पूर्ण वा आंशिक शुल्क छुट दिइनेछ । यस कार्यक्रमले ग्रामीण तथा कमजोर वर्गका विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षामा पहुँच बढाउने लक्ष्य राखेको छ ।

कलेजको भर्ना समिति २०२५ का संयोजक रुपेश दही श्रेष्ठका अनुसार प्रदेश र समुदाय छात्रवृत्ति कलेजको समावेशी नीति र सामाजिक उत्तरदायित्वको अभिन्न अङ्ग हो । ‘यसले राष्ट्रिय समावेशिता र समान अवसर प्रवर्द्धनमा सघाउ पुर्याउँछ’, संयोजक श्रेष्ठले भने ।

कलेजले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई यथासिघ्र सम्पर्क गर्न अनुरोध गरेको छ । छनोट भएका विद्यार्थीहरूको नाम जतिसक्दो छिटो सार्वजनिक गर्ने जनाइएको छ । आवश्यक कागजात, फारम तथा विवरणहरू नेक कलेजको वेबसाइट र कलेज प्रशासनिक कार्यालयबाट प्राप्त गर्न सकिने छ ।

कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले नाफा नलिने उद्देश्यका साथ सञ्चालित कलेजले देशमा बढी भन्दा बढी इन्जिनियरहरुको उत्पादन होस् भन्ने हेतुले विभिन्न छात्रवृत्तिहरु प्रदान गरिरहेको बताए । शहरी कोलाहलदेखि बाहिर शान्त तथा हरियाली वातावरणमा कलेज रहेकाले कलेज आउने वित्तिकै विद्यार्थीहरुलाई पढौं पढौं लाग्ने प्राचार्य भण्डारीको भनाई छ । ‘शहरी भिडभाड भन्दा बाहिर आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधारमा कलेज छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिद्वारा सञ्चालित मुनाफारहित सामाजिक शैक्षिक संस्थाकारूपमा स्थापित यस कलेजमा स्नातक तहमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछु,’ प्राचार्य भण्डारीले भने । 

पोखरा विश्वविद्यालयकै उत्कृष्ट कलेज, नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता, १०० बढी अनुभवी फुलटाइम फ्याकल्टी, ल्याब, पुस्तकालय तथा रिसर्चका सम्पूर्ण सुविधा, राष्ट्रिय तथा अन्तराष्ट्रिय एक्सपोजरको सुविधा, स्थानीय तहदेखि प्रादेशिक, सञ्चालक समिति तथा विश्वविद्यालयगत छात्रवृत्तिहरू कलेजको प्रमुख विशेषता हुन् । 

कलेजमा अध्यानार्थ आउने विद्यार्थीहरुका लागि सहजरुपमा यातायातको व्यवस्थापन गरिएको छ । काठमाडौं उपत्यकासँगै काभ्रेसम्म यातायात सुविधा उपलब्ध छ भने, विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि समयसमयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गेस्ट लेक्चरहरूको व्यवस्था गरिएको कलेजले जनाएको छ । समयानुकूल प्रविधियुक्त शिक्षण विधि, सर्वसुलभ शुल्क, गुणस्तरीय शिक्षा कलेजको विशेषताहरु रहेको प्राचार्य भण्डारीको दावी छ । 

कलेजमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रूरल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ, ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, डिप्लोमा होल्डर्सहरुका लागि गरी विई फर डिप्लोमा होल्डर्स गरी सात वटा शैक्षिक कार्यक्रम सञ्चालित रहेका छन् । 













0 प्रतिकृया