Follow us:


Follow us

२ माघ २०८२, बिहिवार
२ माघ २०८२, बिहिवार


के यही नै लोकतन्त्रको सबैभन्दा ठूलो विडम्बना होइन र ?

एक्सन खबर
असोज, १, २०८२


के यही नै लोकतन्त्रको सबैभन्दा ठूलो विडम्बना होइन र ?

डा. सुनिल कुमार शर्मा

“न धर्मो धर्मशास्त्रेषु न लोके न च वेदसु ।

यः स्यात् प्रियतमा लोके स धर्म इति निश्चयः ॥”

(अर्थात् धर्मशास्त्र वा वेदमा मात्र होइन, जनताको मनमा प्रिय हुने कुरा नै सच्चा धर्म हो।)

नेपाली कांग्रेस विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता विभूतिहरूको नेतृत्वमा देशकै गौरव, आदर्श र जनआस्थाको केन्द्रबिन्दु थियो । समयक्रममा आजसम्म आइपुग्दा पार्टीको गरिमा र छविमाथि गम्भीर अपजस देखा पर्यो । यसलाई कांग्रेसले गम्भीरपूर्वक लिई आगामी दिनहरूमा जनताकेन्द्रित भई सच्चिन आवश्यक छ ।

आजको यो अवस्थाको दोष केवल पार्टी सभापति वा शीर्ष नेतृत्वकै काँधमा मात्र थोपर्नु न्यायोचित हुँदैन । यो अपजसको हिस्सेदार हामी सबै हौँ जसले समयमा नै गलतलाई गलत भन्न सक्ने आँट गरेनौँ । विशेषतः ती सबै पदाधिकारीहरू, कार्यकर्ता र नेतृत्व तहले आत्मसमीक्षा गर्न जरुरी छ । जब पदाधिकारीहरूले मौनता वा आत्मा समर्पण देखाउँछन्, तब पार्टीभित्र विश्वासको संकट झन् गहिरो हुन्छ ।

अझ पीडादायी त के हो भने दूरदराजका आम नागरिक दुई छाक खाना र एक सिटामोलको खोजीमा बाँचिरहेका छन् । स्कूल जान तुइन चढेका बालबालिका खोलामा बगिरहेका छन् तर नेताहरू ठूला गाडी, महल र भोज भतेरमा रमाइरहेका छन् । जिल्लास्तरका यात्रामा जाँड, रक्सी, कुखुरा, खसी, करोडौँको खर्च र सयौँ गाडीको लर्को तानेर देखावटी शक्ति प्रदर्शन गर्ने प्रवृत्ति मौलाएको छ ।

काठमाडौँमा गुटगत कार्यालयहरू चलाउने, करोडौँ खर्च गर्ने तर त्यसको स्रोत नखोल्ने प्रवृत्ति, यो पारदर्शिता होइन । यो त भ्रष्टाचारको मौन स्वीकृति हो । विदेशबाट पैसा आयो, तस्करीमार्फत आयो वा ठेक्का कमिशनमार्फत आयो, जनताले प्रश्न सोधिरहेका छन् तर नेताहरू मौन छन् । यसैबीच सर्वसाधारण नेपाली चर्को ब्याजमा ऋण लिएर विदेशिन बाध्य छन् । जबकि तस्करीमार्फत आएको करोडौँ रकम पार्टी र नेताहरूको गुटीय चाकरीमा बगिरहेको छ । यो लोकतन्त्रको आत्मामाथि गरिएको अपमान हो ।

नेपाली कांग्रेसका गृहमन्त्रीले निर्दोष, निहत्था बालबालिकामाथि बर्बरतापूर्ण र आततायी ढंगले गोली चलाएर थुप्रैको ज्यान लिने दुस्साहस त देखाउँछन् तर आफ्नै पार्टीभित्र गल्ती गर्नेहरूलाई पदाधिकारी बैठक बोलाएर कारबाही गर्ने वा कानूनी कठघरामा उभ्याउने सामर्थ्य पदाधिकारीहरूले देखाउन सक्दैनन् । बहालवाला पदाधिकारीहरू लाचार बनेर निर्लज्ज ढंगले मौन बसिरहेका छन् । के यही नै लोकतन्त्रको सबैभन्दा ठूलो विडम्बना होइन र ?

शिक्षा क्षेत्रमा पनि अन्याय कम छैन । छोरीहरू नर्स बन्ने सपना बोकेर बसेका छन् तर तीन सयभन्दा बढी नर्सिङ कलेजहरू बन्द गरिएका छन्, शिक्षा क्षेत्रमा सिन्डिकेट लादिएको छ, निजी विद्यालय बन्द गर्ने षड्यन्त्र भइरहेको छ, र पढ्ने अधिकारमै बाधा पुर्‍याइएको छ । अर्कोतर्फ, हाम्रा बालबालिका उच्च शिक्षा हासिल गर्न चाहन्छन्, कम्तिमा म पढ्छु भन्नेलाई त सरकारले सफ्ट लोन देऊ भन्ने माग राखेका छन् तर सरकार सफ्ट लोन दिन तयार छैन । यसले भावी पुस्ताको मात्र सपना चकनाचुर बनाएको छैन, समग्र राष्ट्रको प्रगतिको बाटोमै अवरोध खडा गरेको छ ।

यता गैरआवासीय नेपाली (एनआरएन) हरू जसको हजारौँ वर्षको इतिहास, संस्कार र पहिचान नेपालको माटोसँगै गाँसिएको छ, जो यहीँ जन्मिएर रोजगारी वा अवसरको खोजीमा मात्र विदेशिएका हुन् । साधारण परिचयपत्र बनाउनसम्म पनि अनेक दुःख–कष्ट व्यहोर्न बाध्य भए, जुन वास्तवमा उनीहरूको सहज अधिकार र कर्तव्य दुवै थियो । तर विडम्बना के छ भने आज ती नै नेपालीलाई ‘अनागरिक’ सरह व्यवहार गरिन्छ, आफ्नै पुर्ख्यौली सम्पत्ति आफ्नै नाममा कायम राख्ने अधिकारसमेत खोसिन्छ, र ‘म नेपाली हुँ’ भन्ने मौलिक पहिचानबाटै वञ्चित पारिन्छ । यसभन्दा लाजमर्दो स्थिति अरू के हुन सक्छ ? जिम्मेवार शक्ति रहेको नेपाली कांग्रेसले सरकारमा रहँदा यस्ता गम्भीर नीतिगत विषयलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा, दुर्भाग्यवश, यो विषय पनि उपेक्षित रह्यो ।

जनआक्रोश अब सडकमा मात्र होइन, संसद परिसरमा समेत देखिएको छ । इतिहासमा पहिलोपटक संसदभित्रै जनताको आक्रोश प्रवेश गर्नु केवल घटना मात्र होइन, यो लोकतन्त्र मृत्युको बाटो हो । यो चेतावनी हो कि, जनताको आवाज अब थुन्न सकिँदैन । त्यसमा पनि चरम गुटबन्दी, पञ्चायतकालदेखि पार्टीका लागि योगदान दिने साथीहरूलाई कारबाही गर्ने प्रवृत्ति, मन्त्री पदलाई सेवाभाव, जनताको मत, विश्वास र योग्यताभन्दा पनि बढी पैसा वा गुटीय स्वार्थका आधारमा बाँड्ने अभ्यास, यी सबै पार्टीलाई कमजोर बनाउने प्रमुख कारण हुन् । 

अझ दुःखको कुरा, यी गतिविधिबारे थाहा पाउँदा पाउँदै पनि धेरै महामन्त्रीज्यू र पदाधिकारी मौन बसिरहे, जुन केवल लापरबाही मात्र नभई देश र जनताप्रतिको विश्वासघात हो । जनताको असन्तुष्टि केवल शासन वा प्रशासनको कमजोरी होइन, नेतृत्वकै नसोच्ने प्रवृत्तिको परिणाम हो । सेवा प्रवाहमा सुधार नआउँदा, रोजगारीको अभाव, पारदर्शिताको कमी, भ्रष्टाचार र बेथिति बढ्दा जनआक्रोश जेन–जी आन्दोलन जस्ता विद्रोहका रूपमा प्रकट भएको छ । तर नेतृत्वमा अझै पनि मौनता, दम्भ र षड्यन्त्रमै रमाइरहेको छ । 

यदि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्वतन्त्र न्यायपालिका, दूषित न्यायाधीशहरूको बर्खास्ती, कार्यकारीमा दुई कार्यकालको सीमा जस्ता सुधारात्मक एजेन्डालाई वेवास्ता गर्ने प्रवृत्ति यथावत् रह्यो भने, चाँडै अझ ठूलो विद्रोहको सामना गर्नुपर्नेछ  र त्यसबेला आत्मसमीक्षाको अवसर समेत गुमिसकेको हुनेछ । 

अब समय आएको छ, अपजस केवल सभापतिको होइन, हामी सबैको हो । जिम्मेवारी हामी सबैले लिनै पर्छ । आँट नगर्ने नेतृत्व अन्ततः आत्मसमर्पण गर्ने नेतृत्व हुन्छ । यदि हामीले यो अपजसलाई आत्मसमीक्षाको अवसरका रूपमा लिन सक्यौँ भने कांग्रेस फेरि पनि सुधार, स्वच्छता र जनआस्थाको बाटोमा अघि बढ्न सक्छ । तर यदि हामी व्यक्तिगत महत्वाकांक्षा, गुटगत स्वार्थ र कुटिल चालमै रमायौँ भने यस अपजसलाई इतिहासले कहिल्यै माफ गर्ने छैन । कांग्रेस इतिहासमा सीमित हुने दिन आउन सक्छ ।

त्यसैले मेरो नम्र आग्रह छ विशेषतः पाँच वर्षका लागि हाल कार्यकारी पदमा रहेका नेतागणले कार्यकारी पदमा बस्ने मोह त्यागी, अभिभावकको भूमिकामा रहने कालजयी निर्णय गरेर पार्टीभित्रका नवपुस्तालाई नवनिर्माणको जिम्मेवारी दिने वातावरण सिर्जना गर्ने हो भने कांग्रेस पुनः आफ्नो गौरवशाली यात्रामा फर्कन सक्छ । यही बाटोले मात्रै आजको अपजसलाई चिरेर सुधारको प्रारम्भिक ढोका खोल्न सक्छ ।

अन्त्यमा, देशको भविष्य निर्माण नेतृत्वको इमानदारिता र जवाफदेहितामा निर्भर हुन्छ । जबसम्म हाम्रो नेतृत्वले जिम्मेवारीलाई केवल सत्ताको खेल सम्झिरहन्छ, तबसम्म देश, समाज र पार्टीलाई अँध्यारोबाट उज्यालोमा लैजान सम्भव छैन । देशको लागि बीपी कोइरालाको विचार र  सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक र अपरिहार्य छ । तर यसको लागि कांग्रेस आफैँ सच्चिएर अगाडि बढ्न आवश्यक छ । आज समयको चाहना पनि यही नै हो । (डा. शर्मा नेपाली कांग्रेसका पूर्व सांसद हुनुहुन्छ)













0 प्रतिकृया