आकांक्षी बढी भएपछि संगठनात्मक संरचना बदल्दै एमाले अध्यक्ष ओली
एक्सन खबर
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक संरचनामा महत्वपूर्ण फेरबदल गर्ने तयारी भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य देखि पदाधिकारी र पोलिट ब्यूरो सदस्यमा उठ्न चाहने आकांक्षीहरुको संख्या अत्याधिक देखिएपछि संगठनात्मक संरचना नै फेरबदल गर्ने तयारीमा पुगेका हुन् ।
एमालेको महाधिवेशन आउन ५ दिन मात्र बाँकी रहेका बेला उम्मेद्वार बन्न चाहनेहरुले गुण्डु नै पुगेर अध्यक्ष ओलीको अस्थायी बासस्थानमा डेरा जमाएपछि नेता ब्यवस्थापनमा ओलीलाई सकस परेको हो । एमाले पदाधिकारीहरुको बैठकहरूमा भएको आन्तरिक छलफलअनुसार बिगतमा हटाइएका पदहरू पुनःस्थापित गर्ने र पार्टीका शीर्ष तहमा नयाँ शक्ति सन्तुलन बनाउने दिशा तय भएको छ ।
यी प्रस्तावित संशोधनको केन्द्रमा वरिष्ठ उपाध्यक्ष पद पुनर्जीवित गर्ने चर्चा छ, जसका लागि विष्णु पौडेल सबैभन्दा बलियो उम्मेदवारका रूपमा अगाडि देखिएका छन् । हालसम्म तटस्थ जस्तो देखिए पनि पौडेल केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीलाई खुला समर्थन गर्दै ओली समूहलाई थप मजबुत बनाएका छन् । पौडेलसँगै पृथ्वीसुब्बा गुरुङ पनि ओली पक्षमा खुलेपछि पार्टीभित्रको समीकरण ओलीतर्फ झनै केन्द्रित भएको विश्लेषण गरिएको छ ।
महाधिवेशन उद्घाटन मंसिर २७ गते भक्तपुरमा हुनेछ भने भोलिपल्ट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रमै विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ । एमालेका एक वरिष्ठ नेताका अनुसार केन्द्रीय सदस्य संख्या फेरि ३०१ पुर्याउने, पोलिटब्यूरो ९९ बाट १०१ बनाउने र गत भदौमा हटाइएका स्थायी कमिटीलाई ४१ सदस्य सहित पुनःस्थापित गर्नेबारे सहमति बनिसकेको छ ।
पार्टी पदाधिकारीको संख्या पनि पहिलेकै १९ मा फर्काउने योजनामा ओलीले दुई विकल्प अघि सारेका छन् । पहिलो विकल्पअनुसार वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष बनाउने, नौ सचिव सहित पदाधिकारी विस्तार गरिनेछ ।
दोस्रो विकल्पमा उपाध्यक्ष संख्या स्थिर राखेर चार सचिव थप्ने प्रस्ताव छ । महासचिव शंकर पोखरेलले यही मोडललाई प्राथमिकता दिँदै आएका छन् । यदि वरिष्ठ उपाध्यक्ष पद पुनःस्थापित भयो भने त्यसका प्रमुख दाबेदार विष्णु पौडेल नै हुनेछन् । यस्तो अवस्थामा अहिलेका उपाध्यक्षहरूमध्ये वरियताक्रम स्वाभाविक नबस्ने भन्दै रामबहादुर थापालाई पहिलो नम्बरको उपाध्यक्ष राख्न नहुने तर्क नेताहरूले अघि सारेका छन् । लालबाबु पन्डित पनि उपाध्यक्षका दावेदार हुन् ।
महाधिवेशन नजिकिँदै जाँदा सचिव पदका लागि भने दह्रो प्रतिष्पर्धा देखिएको छ । जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालसहित शेरधन राई, पूर्वमन्त्री भगबती चौधरी, कोशी प्रदेश प्रमुख समेत रहेका हिक्मत कार्की, डा। राजन भट्टराई, महेश बस्नेत, काशीनाथ अधिकारी, खगराज अधिकारी, लेखराज भट्ट, रघुविर महासेठ लगायत एक दर्जनभन्दा बढी नेताहरू सचिवका लागि सक्रिय लबिइङमा छन् । बर्तमान सचिब पद्मा अर्यालले उपाध्यक्षमा चाहना गरेपछि उनको स्थानमा सुनसरी क्षेत्र नं. ३ की भगबती चौधरीले दावी गरेकी छन् । कोशी प्रदेशबाट शेरधन राई अर्का सचिबको बलियो दावेदार हुन् । मधेश प्रदेशबाट रघुविर महासेठ अगाडी सरेका छन् । उनको लागि श्रीमती जुली महतो र उपेन्द्र महतो लगातार गुन्डु पुगिरहेका छन् । बागमती प्रदेशबाट गाेकूल बास्काेटा र महेश बस्नेतकाे चर्चा छ ।
महाधिवेशन अघि संरचनागत समायोजन कसरी टुंगिन्छ भन्नेमा सबैको नजर छ । किनकि यही निर्णयले एमालेको नयाँ शक्ति–समीकरणलाई दीर्घकालीन रूपमा निर्धारण गर्नेछ ।
उता, इश्वर पोखरेल पक्षमा भने अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, कर्ण थापा, पुरूषोत्तम पौडेल, वृन्दा पाण्डे, उषाकिरण तिम्सिना लगायतले सहमतिमै प्यानल बनाएर प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् । त्यसो त एमालेको यो महाधिवेशनले पुनः केपी शर्मा ओलीलाई नै पुनः अध्यक्षमा दोहोर्याउने देखिएको छ । सातै प्रदेशबाट ओली पक्षले ७० देखि ८० प्रतिशत मत ल्याउने अनुमान गरिएको छ ।
0 प्रतिकृया