अब बैदेशिक राेजगारीमा जाने कामदारकाे स्वास्थ्य परीक्षण जुनसुकै अस्पतालबाट पनि हुने
एक्सन खबर
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ । मन्त्री दिपककुमार साहको नेतृत्वमा बसेको मन्त्रिस्तरीय बैठकले अब सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाइने निर्णय गरेको हो ।
यसअघि सीमित स्वास्थ्य संस्थामार्फत मात्रै यस्तो परीक्षण हुँदै आएको थियो । बैठकले स्वास्थ्य परीक्षण गर्न इच्छुक संस्थाका लागि सूचीकरण खुला गर्ने, साथै सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ अनुसार आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारको निर्णय सकारात्मक भए पनि निजी स्वास्थ्य संस्थाहरूको व्यवस्थापन र समन्वय आवश्यक रहेको बताएका छन् ।
हाल मन्त्रालयको मापदण्डअनुसार १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गरेर वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । नयाँ व्यवस्थासँगै अब थप अस्पतालहरू पनि यस प्रक्रियामा सहभागी हुन सक्नेछन्, जसले सेवा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
0 प्रतिकृया