राप्ती प्रतिष्ठानमा सुपरस्पेसियालिटी सेवा सुरु भएसँगै हजारौ बिरामी लाभान्वित
एक्सन खबर
दाङ । विगतमा लुम्बिनी प्रदेशका दाङ, रोल्पा, रुकुम, सल्यान, प्यूठान लगायतका जिल्लाका सर्वसाधारणको उपचार गर्ने मुख्य थलो नेपालञ्ज र लखनऊ रही आएको थियो । साधारण बिरामी हुँदा पनि लखनऊ जानुपर्ने, काठमाडाैंमा आफन्त रहेको अवस्थामा केही बिरामी उपचारार्थ काठमाडाैं आउने र केही बिरामी भारतको दिल्लीसम्म उपचारार्थ पुग्नुपर्ने अवस्थालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तारले राहत दिएको छ ।
प्रतिष्ठानले आ.व. २०८०/०८१ मा प्रायः सबै स्पेसियालिटी सेवा स्थापना गरेको र आ.व. २०८१/०८२ देखि सुपरस्पेसियालिटी सेवा प्रवाह समेत गर्न थालेको छ ।“हाल न्युरोसर्जरी, युरोसर्जरी र कार्डियोलोजी सेवा सूचारू रहेको” प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले जानकारी दिए । प्रतिष्ठानले आफ्नो सुपरस्पेसियालिटी सेवालाई प्रभावकारी तुल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पताल, किर्तिपुर ज्वलन अस्पताल, त्रि.वि. शिक्षण अस्पताल, निजामति अस्पताल लगायतसँग सम्झौता र सहकार्य समेत शुरू गरेको छ ।
प्रतिष्ठानले मुटु रोगको उपचारका लागि आवश्यक क्याथल्याब जडान गरिसकेको छ । हालको अपरेसन थिएटर र आइ.सी.यु. लाई आधुनिक प्रविधिसहित विस्तार गर्ने काम भइरहेको छ । प्रतिष्ठानले विभिन्न विशेषज्ञ चिकित्सकहरु एकपछि अर्को थप्दै गइरहेको अवस्थामा प्रतिष्ठानमा बिरामीको चाप पनि अत्यधिक रहेको छ । दैनिक हजारको हारहारीमा बिरामीहरु उपचार लिएर गइरहेका छन् ।
प्रतिष्ठानले दिएको तथ्याङ्क अनुसार २०८२ बैशाख १ गते देखि चैत २१ गतेसम्म ४ सय ३९ जना बिरामीले ओ.पि. डी.मार्फत मुटु रोग विशेषज्ञ सहीतको (कार्डियोलोजी) सेवा पाएका छन् भने ४ हजार २ सय ४४ जना न्युरोसर्जरी विभागबाट सेवा पाएका छन् । यसै गरेर सोही अवधिमा ५ हजार ७४ जना बिरामीले युरोलोजी विभागबाट सेवा पाएका छन् । जस अन्तरगत न्युरोसर्जरी सेवामा साना तथा ठुला गरेर २ सय ३ वटा अप्रेसन भएका छन् भने युरोलोजी सेवा अन्तर्गत ६ सय ४९ वटा साना तथा ठुला अप्रेसन भएका छन् ।
प्रतिष्ठानका नि. उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालले भने, “बिरामीको चाप अनुरुप भौतिक संरचनाको अभाव हुँदा बाध्यतावस बिरामी रिफर गर्नुपरेको छ, शैक्षिक संरचनाको अभावमा प्रिफ्यावका अस्थाई संरचना तथा भाडाका घरमा एम.बी.बी.एस. लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरेका छाैं । सरकारले ४०० शैयाको गुरुयोजना चालु आ.व. मै स्वीकृत गरेर निर्माण कार्य अगाडी बढाउनेमा प्रतिष्ठान विस्वस्त छ ।” प्रतिष्ठानले पेश गरेको आयोजना राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गर्ने क्रममा रहेको छ ।
0 प्रतिकृया