सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य र खबरदारीको मिश्रित सन्देश
एक्सन खबर
काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य र खबरदारीको मिश्रित सन्देश देखिएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले तीव्र गतिमा सुधार र सुशासनका एजेन्डा अघि बढाउने बताउँदा प्रतिपक्षी दलहरूले सरकारका कामका आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पारेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेले संसदमा दमनकारी अभ्यास अन्त्य हुने र सुशासनको गति नरोकिने बताए । उनले “हनिमुन पिरियड” नचाहिने उल्लेख गर्दै सरकार सेकेन्ड गनेर काम गर्ने बताएका छन् । साथै, पुराना नियुक्तिहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गर्दै प्रतिपक्षलाई निरन्तर निगरानी गर्न आह्वान गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे ले भदौ २३–२४ घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै दोषीलाई कारबाही र निर्दोषलाई न्याय सुनिश्चित गर्नुपर्ने धारणा राखे । उनले संविधान विपरीत गतिविधि भए कडा खबरदारी गर्ने चेतावनी दिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता रामबहादुर थापाले वर्तमान सरकारको उदयमाथि प्रश्न उठाउँदै जेनजी आन्दोलन, गिरफ्तारी र बाह्य प्रभावबारे स्पष्टता मागे । उनले सरकारको भूमिकामाथि संसदमा कडा प्रश्न उठाइरहने बताए । भने, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले विगतका अनुभवबाट शिक्षा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । उनले सहकार्य र आलोचनात्मक समर्थनमार्फत सरकारलाई साथ दिने प्रतिबद्धता जनाए ।
बैठकमा अन्य दलका सांसदहरूले पनि समय अनुशासन, सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको हितमा काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पहिलो बैठकले सरकार र प्रतिपक्षबीच सहकार्यको आवश्यकता स्वीकार्दै पनि आगामी दिनमा कडा राजनीतिक प्रतिस्पर्धा रहने संकेत दिएको छ ।
0 प्रतिकृया