• NEPAL WEATHER


    बराह बचतको मुनाफा ३ करोड ६७ लाख बढी

    एक्सन खबर


    बराह बचतको मुनाफा ३ करोड ६७ लाख बढी

    सुनसरी । बराह बचत तथा ऋण सहकारी संस्थाले साँढे ३ करोड बढी मुनाफा कमाएको छ । संस्थाले आर्थिक वर्ष ०७७÷७८ मा खुद मुनाफा ३ करोड ६७ लाख ३२ हजार ३४३ रुपैंया कमाउन सफल भएको हो ।

    सहकारीले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा पनि गरेको छ । संस्थाको १२ औंं बार्षिक साधारणसभामा संरक्षित पूँजी फिर्ता कोष र शेयर लाभांश कोष गरी १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी दिइयो  ।

    सो अवसरमा आर्थिक वर्ष ०७७÷०७८ को प्रगति विवरण सार्वजनिक गर्दै संस्थामा हाल ५ हजार एक सय १७ जना शेयर सदस्य रहेको जानकारी दिइयो । संस्थामा आ.व. २०७७÷०७८ मा शेयर रकम १०,२९,१६,५००।– पुर्याइएको छ । जगेडा कोषमा ३,२८,८०,९८७।४३, निक्षेप संकलन ७२,१९,८४,६४४।३४ ऋण लगानी ७९,३२,४४,८२९।८७ गरेको जनाइएको छ ।

    साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ लिमिटेडका सञ्चालक सदस्य शिव कुमार डांगी रहेका थिए । उनले सहकारीले गाउँगाउँमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी गाउँघरमा उद्यमशिलता फैलाइरहेको बताए । साथै आम मानिसलाई बचत गर्नुपर्छ भन्ने धारणा विकास गर्न पनि सहकारी सफल रहेको जनाए । उनले हालको तरलता एवम् वित्तीय संकट बराहको मात्र नभई देश र विश्वकै भएको भन्दै वित्तीय संकट विश्वमा तेस्रो माहामारीको रुपमा देखा परेकोले सहकारीकर्मीहरु एकजुट र संयमित भई सहकारीको ऐन, नियम र सिद्धान्तमा रही कार्य सम्पादन गर्नु आजको आवश्यकता रहेको जनाए ।



    कार्यक्रमका विशेष अतिथि बराह ग्रुपका अध्यक्ष शिव कुमार लामिछानेले ग्रामिण क्षेत्रमा आर्थिक गतिविधिहरु बढाउन सहकारीहरुले खेलेको भूमिका राज्यले बुझ्नु पर्ने बताए ।

    “हामी सबैको बराह आर्थिक उन्नतीको सहारा” भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको सहकारीले आर्थिक रुपमा पछाडि रहेका वर्ग र समुदायहरुलाई आर्थिक क्रियाकलापको मूलधारमा ल्याउने र उत्पादनको क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई आर्थिक रुपमा सफल र स्वरोजगार बनाउने उद्देश्य लिएको छ ।

    साधारणसभाको अवसरमा संस्थाले सर्वाधिक निक्षेप संकलनकर्ता ३ जना, सकृय अभियान्ता ११ जना र बराह प्रोत्साहन पुरस्कार ५ जना कर्मचारीहरुलाई सम्मान गरेको थियो ।   

        










    0 प्रतिकृया