Follow us:


Follow us

२१ असार २०८३, आइतवार
२१ असार २०८३, आइतवार


नोबेलमा विद्यार्थीले हिंसा मच्चाएको भन्दै एशोसिएसनकाे विरोध

एक्सन खबर
पाैष २८, २०७८


नोबेलमा विद्यार्थीले हिंसा मच्चाएको भन्दै एशोसिएसनकाे विरोध

काठमाडौं। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विद्यार्थीहरुले अनावश्यक हंगामा मच्चाएर हिंसात्मक गतिविधि गरेको भन्दै निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विरोध जनाएको छ ।

विद्यार्थीहरुले विरोधका नाममा हिंसात्मक गतिविधि गरेर भौतिक सम्पत्तिमा क्षति पुर्याउँने काम गरेको भन्दै एशोसिएसनले बुधबार प्रेस विज्ञप्ति जारी गरेर विरोध जनाएको हो । शान्तिपूर्ण आन्दोलनका नाममा अस्पतालमा ढुंगामुडा गर्ने, तोडफोड गर्ने, विरामी, विरामी कुरुवा, चिकित्सक र कर्मचारीहरुलाई आतंकित पारेर निर्वाध रुपमा सञ्चालन हुनुपर्ने अस्पताल सेवालाई प्रभावित पार्ने काम गरेको भन्दै घटनाप्रति एशोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


विद्यार्थीहरुले बस्तुगत समस्यालाई नबुझी आन्दोलनको नाममा गर्दै आएको कृयाकलाप भित्र विभिन्न अवान्छित तत्वहरुको घुसपैठले हिंसात्मक रुप लिएको एशोसिएसनको ठहर छ । हिंसात्मक गतिविधि नरोकिएमा एशोसिएसनले देशभरका शिक्षण तथा अस्पताल सेवा ठप्प पार्ने चेतावनीसमेत दिएको छ ।

‘बिभिन्न आन्दोलनका नाममा घुसपैठ गर्ने, कलेज तथा कलेज सञ्चालकलाई सार्वजनिक रुपमा मानमर्दन गर्ने, गालीगलौज गर्ने, शिक्षण अस्पताल, कलेजको भौतिक सम्पत्तीमा क्षति पुर्याउँने जस्ता कृयाकलापले राज्यमा शान्ति सुरक्षा, अमनचैन कायम गर्न जिम्मेवार निकाय निरिह बनेको जस्तो देखिएको छ,’ एशोसिएसनका अध्यक्ष बसरुद्धीन अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही कृयाकलाप निरन्तर भएमा यस एशोसिएसनले बाध्य भएर शिक्षण संस्था तथा अस्पताल सेवालाई देशव्यापी रुपमा ठप्प पार्नुपर्ने स्थिती सृजना नहोस् ।’

गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गरी दक्ष चिकित्सा जनशक्ति उत्पादनमा अहोरात्र खटिदै स्वदेशमै सर्वसुलभ गुणस्तरीय विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दै चिकित्सा सेवामा उल्लेख्य योगदान पुर्याउँदै आएको प्राइभेट, पव्लिक मेडिकल कलेजहरुको दुखेसो, माग र आवश्यकतालाई लत्याएर राज्यका सवै तह र तप्काबाट एकोहोरो रुपमा लखेट्ने काम गरिएको एशोसिएनले जनाएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को परिच्छेद ७ को १८ (१) (क) मा शुल्क निर्धारण गर्दा विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्थाको लागत तथा संचालन खर्च, मुद्रास्फिति, भौगोलिक अवस्थिति, छात्रवृत्ती तथा निःशुल्क सेवासमेतलाई दृष्टिगत गरी श्विविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थासँग परामर्श गरी आयोगले शुल्क निर्धारण गर्ने व्यवस्था छ ।

तर, यो व्यवस्था विपरित आयोगले एकोहोरो रुपमा ऐनको मर्म र व्यवस्थालाई लत्याएर पुरानै शुल्क लागु गर्नुले पब्लिक प्राइभेट पाटनरसिपको विश्वव्यापी मान्यतालाई उपहास गरी निरंकुशतातर्फ अगाडि बढेको देखिएको भन्दै एशोसिएसनले विरोध जनाएको छ ।

एशोसिएसनले जिम्मेवार निकायबाट आवश्यक सहयोगको अपेक्षा गर्दै विद्यार्थीहरुलाई आ–आफ्नो कलेजमा गई नियमानुसार भर्ना लिइ पठनपाठनमा सहभागी हुन पनि अपिल गरेको छ ।













0 प्रतिकृया