करुणाका खानी करुणजी प्रति अलविदाका दुई शब्द
एक्सन खबर
केशब सापकोटा
मित्र रुपेन्द्र जीले दिनु भएको नम्बरमा कल गरें । ३, ४ घण्टी पछि उताबाट आवाज आयो ‘नमस्कार, को बोल्नु भयो’
‘हजुर
नमस्कार, म केशब सापकोटा मकालु खबरबाट, मलाई रुपेन्द्रजीले हजुरको नम्बर
दिनुभएको थियो ।’ प्रत्युत्तरमा मैले परिचय दिँदै भने ।
‘ओहो, हजुर
नमस्कार !, हजुर कता होइसिन्छ’ मधुरो स्वरमा बालशुलभता झल्कने मिठासयुक्त
शब्दबाट उहाँले भन्नुभयो । म भुईं मान्छे, ‘आइस्यो गइस्यो’ भन्ने शब्दहरु
राजा महाराजाले मात्रै प्रयोग गर्छन् भन्ने लाग्थ्यो । आफ्ना मुखबाट यस्ता
शब्द निस्कँदै निस्किएनन् । तर, उहाँको शालिन आवाजमा ती शब्दहरु मायालु
लागे ।
‘हजुर म अहिले अनामनगरमा छु, हजुरलाई कसरी भेट गर्नसक्छु होला ?’ प्रत्युत्तरमा उहाँले भक्तपुर सुर्यविनायक ५ मा आउन भन्नुभयो ।
बानेश्वर,
तिनकुने, कोटेश्वर हुँदै सल्लाघारी सम्म कुनै द्विविधा विनै पुगें ।
काठमाडौं बस्न थालेको तीन वर्ष मात्र भएको थियो, सुर्यविनायक कहाँ पर्छ
थाहा थिएन । फेरी फोन गरेँ । उहाँले पुनः लोकेसन दिनुभयो । सोहि मुताविक
पुनः अर्कोपल्ट फोन गरेपछि उहाँको कार्यालय अघिल्तिर पुगें ।
भित्रबाट
एउटी बहिनी बाहिर निस्किँदै ‘सर, एकछिन है, सर तयार हुँदैहुनुहुन्छ ।’
‘हुन्छ’ भन्दै म ढोका बाहिर नै उभिएँ । ५ मिनेट पछि तीनै बहिनीले ढोका
उघार्दै भित्र आउन आग्रह गरिन् ।
सानो कोठा रहेछ । उहाँ बस्ने कुर्सी टेवल, सामान्य प्लाष्टिकको कुर्सी, एउटा दराज, केही थान कागजात यस्तै । ‘नमस्कार सर, म करुण पराजुली, प्लिज बसिस्यो न !’
धन्यवाद भन्दै म बसें ।
त्यसपछि
सामान्य परिचय आदानप्रदान भयो । अष्ट्रेलियामा अध्ययन गरेर स्वदेशमै केही
गरु भनेर आउनु भएको रहेछ । कलकल ग्रुप प्राइभेट लिमिटेड नामक कम्पनी खोल्नु
भएको रहेछ । जसले स्वदेशी हर्बल साबुन उत्पादन गर्दो रहेछ ।
केही
थान उत्पादित हर्बल साबुनहरु देखाउँदै भन्नुभयो–‘सर, हामीले भर्खरै मात्र
यो हर्बल साबुन उत्पादन गर्न थाल्यौं, बजारमा पाउने अन्य हर्बल साबुनभन्दा
एकदमै शुद्ध छ, बोसो कत्तिपनि छैन । यसलाई कसरी ब्राण्डिङ गर्ने होला ?’
मिडिया
चलाउँथे, समाचार लेख्थे साथै विज्ञापन पनि खोज्दथें । सामान्यतया उहाँले
विज्ञापन दिनुहुन्छ भन्ने सोच बनाएर गएको म उहाँले ब्राण्डिङ कसरी गर्ने ?
भनेर प्रश्न सोध्दा एकछिन मलमल्ल परें । तैपनि आफुलाई मिडियाको ठूलै ज्ञाता
देखाउन दुई चार लाइन आइडिया दिएँ । ‘सर, मेरो मिडियामा विज्ञापन हालेर
तपाईंको प्रोडक्ट उपभोक्ताले रुचाउलान् भन्ने ग्यारेण्टी त म दिन सक्दिन,
तर, स्वदेश मै केही गर्छु भनेर अष्ट्रेलियादेखि यहाँ आएर लगानी गर्ने त्यो
पनि घरेलु उत्पादनमा त्यसको लागि म मेरो क्षमताले भ्याएसम्म सहयोग गर्न
तत्पर छु । म योजना बनाएर आउँछु ।’
मेरो यत्ति कुराले उहाँको मन
छोएछ क्यार,‘केशब सर, मसँग ठूलो बजेटको अपेक्षा चैं नगर्नु होला । भर्खरै
कम्पनी खोलेको आशातित सफलता पाएका छैनौं तर, विस्तारै अगाडी बढ्ने आँट,
साहस र धैर्यता छ, हामीलाई तपाईंको साथ र सहयोगको खाँचो छ । यसलाई एउटा
शुरुवात मात्रै ठान्नु होला ।’ करुणजीले त्यत्ति भनेपछि २ ३ वटा कलकल हर्बल
साबुनको बट्टा दिँदै घरमा लगेर आफैं प्रयोग दिनुभयो । केही दिनमै
कार्ययोजनासहित भेट गर्ने भन्दै विदावारी भएँ ।
त्यसको एकाध दिनपछि
हामीले कलकल हर्बल साबुनका केही व्यापारिक विज्ञापनहरु प्रकाशित गर्यौं ।
हाम्रो पनि नयाँ मिडिया थियो, खासै चलेको थिएन । करुणजीले कार्यालयमै
बोलाएर विजनेश दिएपछि हामीलाई पनि प्रोत्साहन मिल्यो । स्वदेशी उत्पादन,
स्वदेशी लगानीलाई प्रोत्साहन दिनुपर्छ भन्ने मेरो उद्देश्य थियो । उहाँलाई
कतिसम्म सन्तुष्टि दिन सकें आफ्नो ठाउँमा होला तर, उहाँसँगका त्यसपछि धेरै
सहकार्यहरु भए ।
मेरो उद्देश्य उहाँबाट कसरी हुन्छ विजनेश लिने
भन्ने मात्र थियो । तर, करुणजी विजनेशसँगै समाज सेवा, गरिब दुःखीहरुलाई पनि
सेवा गर्नुपर्छ भन्ने मान्यता राख्नु हुँदो रहेछ । यो कुरा मैले उहाँसँगका
एकाध भेटघाटबाट थाहा पाएँ । त्योसँगै उहाँ फरक क्षमताको व्यक्ति समेत
हुनुहुँदो रहेछ भन्नेपनि थाहा भयो । एउटा दुर्घटनामा परेर उहाँ बालबाल
बाच्नु भएको रहेछ । उहाँको कम्मरभन्दा तलको भाग चल्दैनथ्यो । कार्यालयमा
पनि ह्विलचेयरमा बसेर काम गर्नुहुँदो रहेछ । शुरुवातका एक दुई पल्टको भेटमा
उहाँको त्यो परिस्थितिसँग म सात्क्षात्कार नै हुन सकिन । जब उहाँसँग केही
भिडियोहरु सुट गर्नुपर्ने बेला भयो त्यत्तिबेला मात्र करुणजीको शारिरीक
अशक्तताका बारेमा थाहा पाँए । यसपछि त उहाँप्रति मेरो सम्मान अझै बढ्यो ।
शारिरीक
रुपमा कमजोर भएपनि करुणजी मानसिक रुपमा कुनै सवलाङ्ग भन्दा कमजोर
हुनुहुन्नथ्यो । नाम जस्तै करुणाका खानी नै भन्दा पनि हुने । कलकल ग्रुप
पनि उहाँले बढीभन्दा बढी मूनाफा कमाएर ऐसआरामको जिवनयापन गर्न खोल्नु भएको
थिएन । पारिवारिक रुपमा उहाँलाई जिवन विताउन सहज थियो । श्रीमती जागिरे
(नर्स) हुनुहुँदो रहेछ । त्यसले पनि उहाँलाई सहज भएको रहेछ । नत्र उठेदेखि
सुतेसम्म अरुको सहारामा बाच्नुपर्ने ब्यक्तिले कसरी काम गर्न सक्छ र कल्पना
पनि गर्न सकिन्न । तर, करुणजी त उद्यमशिलता, स्वरोजगारको अभियान लिएर
हिँडिरहनु भएको थियो । शरीरले साथ नदिएपनि मस्तिष्कले कलकल ग्रुपलाई एउटा
प्रतिष्ठित कम्पनी बनाउने लक्ष्य उहाँमा थियो । स्वदेशमै केही गरौं भन्ने
सोचसहित उहाँले सुरु गर्नुभएको कम्पनीमा उहाँको नेतृत्व, भिजन स्विकार्दै
जोडिने धेरै रहेछन् ।
एकपल्टको भेटमा उहाँले भक्तपुरमा रहेको मानव
कल्याण समाजको कुरा गर्नुभयो । मानव कल्याण संस्थाले सडकमा बेबारिसे भएर
बसेका मानिसहरुको उद्दार गर्दै उनीहरुको संरक्षण गर्ने घरपरिवार भएकालाई
पुर्नमिलन गराउने काम समेत गर्दोरहेछ । त्यहाँकी सञ्चालक हुनुहुँदो रहेछ
सुमी मानब । उहाँको समाजसेवा र बेवारिसे मानिसहरुको उद्दारमा उहाँले गरेको
कार्यको खुबै प्रसंशा गर्नुभयो ।
‘सुमित्रा म्याडमको काम देखेर म
अत्यन्त प्रभावित भएको छु, भाडाको घरमा दुई तीन दर्जनबढी सडकमा बेबारिसे
भएका मान्छेहरुलाई उठाएर स्याहारसुसार गर्दै संरक्षण गर्नुभएको छ । संस्था
चलाउन उहाँसँग त्यस्तो ठूलो श्रोत पनि देखिन, कहिले काँही त मन्दिरहरुमा
चढाएको चामल, फलफुलहरु कलेक्सन गरेरपनि खुवाउनु हुँदो रहेछ । त्यो
संस्थालाई दिर्घकालिन रुपमा सञ्चालन हुने गरी कुनै काम गरौं न !’
करुणजीले
भनेपछि मैले मिडियाको क्षेत्रबाट केही सहयोग गर्न सकिन्छ कि भनेर हौसला
प्रदान गरें । विदेशमा रहनुभएका केही एनआरएनए मित्रहरु हुनुहुन्छ ।
उहाँहरुलाई यो संस्थाका बारेमा जानकारी गराउने र केही फण्डहरु कलेक्सन
गर्ने साथै मानब सेवा आश्रमका बारेमा बृत्तचित्र बनाउने र जनमानसमा
पुर्याउने प्रस्ताव गरें । करुणजीले पनि त्यहि सोच्नु भएको रहेछ । ‘लौन
केशब सर, कहिले गर्ने, कसरी गर्ने प्लान गरौं न म जे सुकै सहयोग गर्न तयार
छु ।’
उहाँले झनै हुटहुटी गर्न थालेपछि एकदिन म उहाँसँगै भक्तपुरको मानब सेवा आश्रममा गएँ ।
एउटा
अढाई तल्ले घर भाडामा लिएर मानब सेवा आश्रम सञ्चालन गरिएको रहेछ जहाँ
झण्डै ३० जना जति सडक मानबहरुलाई संरक्षण दिइएको थियो । त्यहाँ रहेका
अधिकांश घरपरिवारबाट तिरस्कृत भएका, मानसिक, शारिरीक रुपमा कमजोर भएका,
आफ्नै परिचयसमेत भुलेका व्यक्तिहरु थिए, २ महिनाकी शिशुदेखि ७७ वर्षका
बृद्ध बाआमा पनि थिए । कतिलाई सन्तानले सडकमा ल्याएर छाडिदिएका थिए । कति
सन्तानको अपहेलना सहन नसकेर विरक्तिएर सडकमा आएका थिए । ती सबैलाई सुमी
मानबजीले अपनाउनु भएको रहेछ ।
एकाध घण्टा
त्यहाँ बिताउँदा सुमीजीले मानब सेवा आश्रम सञ्चालन गर्नुको उद्देश्य,
समस्या र चुनौति सबै भन्नुभयो । उहाँ आफैं कुनै सम्पन्न परिवारको व्यक्ति
हुनुहुँदो रहेनछ । हेटौडाबाट पढ्न भनेर काठमाडौं आएको सामान्य परिवारको
व्यक्ति भएपनि समाजसेवा र दु:खी गरिबहरुलाई आश्रय दिनुपर्छ भन्ने ठूलो सोच
राख्नुभएको रहेछ । मानब आश्रम खोल्दाका शुरुवाती संघर्ष, मन्दिरमा चढाएको
चामल संकलन गरेको, घरघरमा सहयोग माग्न गएको, आश्रम आमाबुबाहरु बिरामी हुँदा
उपचार गर्न नसक्दा, औषधी डाक्टरहरु नपाउँदाको पिडा मात्र हैन उपचार गरेर
निको पारेर कतिपय बाआमालाई घरपरिवारसँग पुर्नमिलन समेत गराईदिँदाको सुखद्
पलहरु शेयर गर्नुभयो ।
हप्तौंदेखि सडकको नालीमा
बेबारिसे भएर अपलत्र भएकादेखि मानसिक सन्तुलन गुमाएर सडकमा आएकी दुई जिउकी
महिला, जन्मिने वित्तिकै फोहरको थुप्रोमा फालिएकी नवजात शिशुलाईसमेत
सुमीजीले ग्रहण गरेको पिडादायी कुरा सुन्दा मन नै भक्कानिएर आयो । २० औं
वर्षसम्म सरकारी सेवामा काम गरेर माथिल्लो पदमा पुगेकी आफ्ना सन्तानहरुलाई
सवल बनाएकी तर, जिवनको उत्तरार्धमा तिनै सन्दानहरुबाट अपहेलित भएर आश्रमको
संरक्षणमा रहेकी एक आमालाई देखेपछि मान्छेहरु यत्तिसारो निष्टुरी पनि हुन्छ
र ? भन्ने भो ।
मानब सेवा आश्रमलाई करुणजीले मुनाफाको केही
प्रतिशत सहयोग गर्ने घोषणा गर्नुभएको रहेछ । उहाँ हरेक महिना आश्रममा जाने
त्यहाँ आवश्यक सरसहयोग गर्ने गर्नुहुँदो रहेछ । उहाँले नै बृत्तचित्रको सबै
खर्च व्यवस्थापन गर्ने जिम्मेवारी लिनुभयो । २ दिन लगाएर छायाँकन सकायौं ।
करुणजी समेत छायांकनमा सक्रिय हुनुभयो । छायाँकन पछि भिडियो सम्पादन गर्ने
कार्य हाम्रै कार्यालयमा भयो ।
डकुमेन्ट्री
कस्तो बन्छ ? हामीलाई भन्दा बढ्ता चिन्ता करुणजीलाई थियो । उहाँ आफैं
हाम्रो कार्यालयमा आएर भिडियो सम्पादनमा बस्ने कुरा गर्नुभयो । यो खबर
सुनेर म छक्क परे । छक्क यसकारण की उहाँ शारिरीक रुपमा हाम्रो कार्यालयसम्म
पुग्न सक्नुहुन्थेन । किनभने मेरो कार्यालय २ तल्लामाथि थियो । उहाँलाई
बोकेर नै माथि ल्याउनु पर्दथ्यो । म के गर्ने कसो गर्ने सोच्नै सकिन ।
तैपनि ‘हुन्छ’ भनेर समय व्यवस्थापन गरिदिएँ । भनेकै समयमा उहाँ सहयोगीसहित
आउनुभयो । उहाँसँगै सुमी मानव पनि आउनु भएको रहेछ । दिनभर हलचल नगरी भिडियो
सम्पादनमा बस्नुभयो । कामप्रति उहाँको जुनुन देखेर औधी श्रद्धा जाग्यो ।
उहाँ
हाम्रो कार्यालयमा २ पल्ट आउनु भयो । १५, २० दिनपछि डकुमेन्ट्री तयार भयो ।
त्यसलाई हाम्रै युट्युव च्यानलमा हारेर विदेशमा रहेका एनआरएनएहरुसँग फण्ड
जुटाउने योजना बनाएका थियौं । विदेशमा रहेर नेपालमा समाज सेवा
गरिरहेकाहरुलाई भर्चुवल माध्यमबाट कुरा गरें । सबैले मानब सेवा आश्रमको
प्रसंशा त गरे तर, सहयोग गर्छु भन्ने कोही निस्किएनन् । नेकपा एमालेकी नेतृ
भगवती चौधरीलाई आश्रमको बारेमा शेयर गरें, उहाँले संसदको महिला तथा
बालबालिका समितिकी सभापति निरुदेवी पाललाई भनेर सरकारबाटै केही फण्ड जुटाउन
सहयोग गरौला प्रपोजल पठाउनु भन्नुभयो । यो कुरा सुमीजीलाई शेयर गरें ।
उहाँले प्रपोजल बनाएर पठाउँछु भन्नु त भयो तर, त्यसलाई कार्यान्वयन गर्न
सकेनौं । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नाेलाेजीका शिशिरजीले मानब सेवा
आश्रम मै गएर जन्मदीन बनाउनु भयाे ।
तर, राम्राहरु मात्र अगाडी लाग्दा चैं नराम्रा, चोर, फटाहा, लुटेराहरुले राज गर्दा रहेछन् । सृष्टिले यो चैं अन्याय गरेकी हो की !
करुणजीसँग त्यसपछि धेरै काम
गर्यौं । टेलिभिजन विज्ञापन बनाउने, स्टोरी लेख्ने धेरै कुरामा उहाँसँग
जोडिएँ । कलकल ग्रुपले पनि विस्तारै फड्को मार्दै गयो । हर्बल साबुनसँगै
लुगाधुने पाउडर, घरेलु शुद्ध तोरीको तेल, आलस, मह लगायत अर्गानिक
वस्तुहरुको उत्पादन, विक्रिवितरण गर्न थाल्नुभयो । ती सबैको ब्राण्डिङ
गर्ने काम गर्यौं । व्यवसायिक हिसाबले करुणजी र मविच एउटा सम्बन्ध थियो
त्योभन्दा बढ्ता म उहाँको जोश, जाँगर र उत्साहबाट अभिप्रेरित थिए ।
खाडी
मुलुकहरु वाहेक विकसित र राम्रो संभावना भएका देशमा गएका अधिकांश युवाहरु
हम्मेसी स्वदेश फर्किएर काम गर्छु भनेर निर्णय गर्न सक्दैनन् । किनभने
नेपालमा अझैपनि कामको सम्मान हुन सकेको छैन । साथमा लगानीको ग्यारेण्टी,
रिटायर्ड लाइफको सामाजिक सुरक्षा पनि छैन । सामान्य व्यवसाय गर्नपनि यहाँ
अनेकन झमेला सहनुपर्छ । राज्यले कर लिनुको दायित्व निर्वाह नगरिरहेको
अवस्थामा करुणजी अष्ट्रेलियाको सुरक्षित जिवन छाडेर स्वदेशमा आउनुभएको थियो
। जिवनको आधा उमेरपनि नबिताई अरुको सहारामा उठबस गर्नुपर्ने अवस्थामा डेढ
दर्जनलाई कलकल ग्रुपमा प्रत्यक्ष रोजगारी दिएर उनीहरुको सहारा बन्नुभएको
थियो । साथमा, उहाँले गर्ने समाजसेवा अर्को उदाहरण त छँदैछ ।
व्यवसायिक
कामले करुणजी र मेरो भेट भयो, एकाधवर्ष यता सम्पर्क पनि गर्न सकेको थिइन ।
आज एक्कासी सुमीजीको वालमा करुणजीको निधन भएको स्टाटस देखेपछि स्तब्ध भएँ ।
राम्रा र असल मान्छेहरुको यो दुनियाँमा ठाउँ रहेनछ । छुद्र, चोर, फटाहा,
लुटेराहरु मात्रै अन्तिमसम्म बाँच्दा रहेछन् । कलियुग भनेकै यस्तै होकी !
अर्को सास्वत सत्य यो पनि होकी संसारमा सबै राम्रै राम्रा भए कहाँ संसार
यस्तो हुन्थ्यो र, एउटाको अस्तित्व समाप्त नभइ अर्को कहाँ उठ्छ र ! तर,
राम्राहरु मात्र अगाडी लाग्दा चैं नराम्रा, चोर, फटाहा, लुटेराहरुले राज
गर्दा रहेछन् । सृष्टिले यो चैं अन्याय गरेकी हो की !
अलविदा
करुणजी, मेरो जिवनमा एकाध यस्ता व्यक्तिहरु छन् जसलाई म सदैव सम्मान
गर्छु, आदर गर्छु त्यसमा तपाई पनि पर्नुहुन्छ । यहाँले जग खनेको कलकल ग्रुप
सदासर्वदा झरनाको पानी जस्तै कलकल गरी अनन्त बगिरहोस् । यहाँकाे जस्ताे
सूविचार सबैकाे ह्दयमा बसाेस् ।
0 प्रतिकृया