Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


७८ वर्षीय श्रीहाङमा जाे जंगलकाे बिचमा जिवन कटाउँदै छिन्

एक्सन खबर
१० माघ २०७८


७८ वर्षीय श्रीहाङमा जाे जंगलकाे बिचमा जिवन कटाउँदै छिन्



प्रकाश पाक्साँवा

तेह्रथुम । सेतै फुलेका कपाल । चाउरी परेको अनुसार । नसैनसा भरिएका हात खुट्टा । अँध्यारो चुलोमा पकाउँदै गरेको खानेकुरा । घरको परिवार भन्नु नै एक मात्रै । यी हुन तेह्रथुम छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी ७८ वर्षीया श्रीहाङमा लिम्बुनी ।

उमेरमा विवाहका लागी धेरैले मन पराए । तर, उनले विवाह गरिनन् । जंगलको बिचमा खरले छाएको घरमा बस्दै आएकी छिन् । घरमा स्थानीय सरकारले बिजुली जडान दिएको थियो । तर, तार मुसाले काटी दिएपछि उनको हरेक रात अँध्यारो मै बित्छ । घर नजिकै रहेको सानो झुप्रोमा रात काट्छिन् ।

उनको घरमा खानेपानीको धारा जोडिएको छैन । करिब आधा घण्टाको बाटोबाट बिहानभर लगाएर खानेपानी जोहो गर्नु पर्छ उनले । नजिकै घर छैनन् । लिम्बु भाषा मात्रै बोल्ने गर्छिन् । नेपाली भाषा बोल्न त के बुझ्नै समस्या छ । समस्या हुँदा कसैले सुन्लान र सहयोग पाउँला भन्ने छैन । नजिकै बजार पनि छैन । उनलाई केही कुरा खान मन लागे बजारसम्म पुग्ने अवस्था छैन । खाली खुट्टा नै घरभित्र बाहिर गर्दै आएकी छन् । चुहिएको छानो मुनी रात कटाउनु उनको बाध्यता नै हो ।



लिम्बुनी भन्छिन्, ‘मलाई मासु खान मन लाग्दा पनि खान पाउँदिन । छिमेकीहरूले कहिलेकाहीँ ल्याइदिन्छन् । उमेर हुन्जेल त राम्रै थियो । खान लाउन दुःख थिएन । आफैं बारीमा अन्न फलाउँथेँ । तर, अब त सक्दिन । मर्ने बेला भयो । बिरामी हुँदा पानी दिनेसम्म कोही छैनन् । दिदीको छोराले चामल र तरकारी माछा-मासु ल्याई दिन्छन् ।’

उनलाई समस्या पर्दा दिदीको छोरा टेकेन्द्र लिम्बुले सहयोग गर्दै आएका छन् । सानीआमालाई हप्ता दश दिनमा खानेकुरा पुर्‍याइदिने गरेका छन् । टेकेन्द्र भन्छन्, ‘सानीआमा एक्लै बस्नु भएको छ । भावीले जे लेखेको त्यै भोगेर मर्छु भन्नु हुन्छ । म उहाँको लागि चामल, माछा, मासु र तराकारी पुर्‍याई दिनेगर्छु । सानीआमालाई खानेपानीको समस्या छ । स्थानीय सरकारले खानेपानीको लागी सहयोग गरे हुन्थ्यो । हामीसँग जाउँभन्दा पनि मान्नु हुन्न ।’

लिम्बुनीको बाँच्ने आधार भनेकै सामाजिक सुरक्षा भत्ता बनेको छ । उनका दिदीको छोराले भत्ता बुझेर दिने गरेका छन् । भत्ताले आमालाई चाहिने सामग्री किनेर पुर्‍याउँदै आएका छन् । लिम्बुनीको छिमेकी सुजन लिम्बुले भ्याएसम्म हेरचाह गर्दै आएका छन् । छिमेकी र दिदीको छोराले हेरचाह गरे पनि आफ्नै घरमा परिवार भएको जस्तो सहज छैन ।

सुजनले गाउँ-घरमा मासु, माछा पाउँदा पुर्‍याइदिने गरेको बताए । सुजन भन्छन्, ‘बजु एकल हुनुहुन्छ । मनले चाहेको कुरा खान पनि पाउनु भएको छैन । हामी छिमेकीले त कहिलेकाहीँ न हो हेरचाह गर्ने ।’ शारीरिक रुपमा अशक्त हुँदै गएपछि ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न समस्या हुने गरेको छ । सहारा विहीन यी र यस्ता नागरिकलाई जीवन निर्वाह गर्न समस्या हुँदै आएको छ ।













0 प्रतिकृया