७८ वर्षीय श्रीहाङमा जाे जंगलकाे बिचमा जिवन कटाउँदै छिन्
एक्सन खबर
प्रकाश पाक्साँवा
तेह्रथुम
। सेतै फुलेका कपाल । चाउरी परेको अनुसार । नसैनसा भरिएका हात खुट्टा ।
अँध्यारो चुलोमा पकाउँदै गरेको खानेकुरा । घरको परिवार भन्नु नै एक मात्रै ।
यी हुन तेह्रथुम छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी ७८ वर्षीया
श्रीहाङमा लिम्बुनी ।
उमेरमा विवाहका लागी धेरैले मन पराए । तर,
उनले विवाह गरिनन् । जंगलको बिचमा खरले छाएको घरमा बस्दै आएकी छिन् । घरमा
स्थानीय सरकारले बिजुली जडान दिएको थियो । तर, तार मुसाले काटी दिएपछि उनको
हरेक रात अँध्यारो मै बित्छ । घर नजिकै रहेको सानो झुप्रोमा रात काट्छिन् ।
उनको
घरमा खानेपानीको धारा जोडिएको छैन । करिब आधा घण्टाको बाटोबाट बिहानभर
लगाएर खानेपानी जोहो गर्नु पर्छ उनले । नजिकै घर छैनन् । लिम्बु भाषा
मात्रै बोल्ने गर्छिन् । नेपाली भाषा बोल्न त के बुझ्नै समस्या छ । समस्या
हुँदा कसैले सुन्लान र सहयोग पाउँला भन्ने छैन । नजिकै बजार पनि छैन ।
उनलाई केही कुरा खान मन लागे बजारसम्म पुग्ने अवस्था छैन । खाली खुट्टा नै
घरभित्र बाहिर गर्दै आएकी छन् । चुहिएको छानो मुनी रात कटाउनु उनको बाध्यता
नै हो ।
लिम्बुनी भन्छिन्, ‘मलाई मासु खान मन लाग्दा पनि खान
पाउँदिन । छिमेकीहरूले कहिलेकाहीँ ल्याइदिन्छन् । उमेर हुन्जेल त राम्रै
थियो । खान लाउन दुःख थिएन । आफैं बारीमा अन्न फलाउँथेँ । तर, अब त सक्दिन ।
मर्ने बेला भयो । बिरामी हुँदा पानी दिनेसम्म कोही छैनन् । दिदीको छोराले
चामल र तरकारी माछा-मासु ल्याई दिन्छन् ।’
उनलाई समस्या पर्दा
दिदीको छोरा टेकेन्द्र लिम्बुले सहयोग गर्दै आएका छन् । सानीआमालाई हप्ता
दश दिनमा खानेकुरा पुर्याइदिने गरेका छन् । टेकेन्द्र भन्छन्, ‘सानीआमा
एक्लै बस्नु भएको छ । भावीले जे लेखेको त्यै भोगेर मर्छु भन्नु हुन्छ । म
उहाँको लागि चामल, माछा, मासु र तराकारी पुर्याई दिनेगर्छु । सानीआमालाई
खानेपानीको समस्या छ । स्थानीय सरकारले खानेपानीको लागी सहयोग गरे हुन्थ्यो
। हामीसँग जाउँभन्दा पनि मान्नु हुन्न ।’
लिम्बुनीको बाँच्ने आधार
भनेकै सामाजिक सुरक्षा भत्ता बनेको छ । उनका दिदीको छोराले भत्ता बुझेर
दिने गरेका छन् । भत्ताले आमालाई चाहिने सामग्री किनेर पुर्याउँदै आएका
छन् । लिम्बुनीको छिमेकी सुजन लिम्बुले भ्याएसम्म हेरचाह गर्दै आएका छन् ।
छिमेकी र दिदीको छोराले हेरचाह गरे पनि आफ्नै घरमा परिवार भएको जस्तो सहज
छैन ।
सुजनले गाउँ-घरमा मासु, माछा पाउँदा पुर्याइदिने गरेको बताए
। सुजन भन्छन्, ‘बजु एकल हुनुहुन्छ । मनले चाहेको कुरा खान पनि पाउनु भएको
छैन । हामी छिमेकीले त कहिलेकाहीँ न हो हेरचाह गर्ने ।’ शारीरिक रुपमा
अशक्त हुँदै गएपछि ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न समस्या हुने गरेको छ ।
सहारा विहीन यी र यस्ता नागरिकलाई जीवन निर्वाह गर्न समस्या हुँदै आएको छ ।
0 प्रतिकृया