‘कान्छी’पछि चर्चामा आयुष मगर
एक्सन खबर
काठमाडौँ । नेपाली संगीत क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताका केही कलाकारले श्रोतामाझ बलियो उपस्थिति जनाइरहेका छन् । तीमध्ये गायक, गीतकार तथा संगीतकार आयुष मगर पनि अहिले चर्चामा आउने नाम बनेका छन् । मेलोडीप्रधान आधुनिक गीत र सिनेम्याटिक शैलीका म्युजिक भिडियोमार्फत उनले छोटो समयमै दर्शक र श्रोताको ध्यान खिच्न सफल भएका छन् ।
रुकुममा जन्मिएका आयुषको सांगीतिक यात्रा अमेरिकासम्म पुगेपछि अझ फराकिलो बनेको देखिन्छ । विदेशमा बसेर पनि उनले आफ्ना अनुभव, भावना र सम्झनालाई संगीतमार्फत प्रस्तुत गर्दै आएका छन् । त्यसैले उनका गीतहरूमा प्रेम, दूरी, घरको सम्झना र भावनात्मक सम्बन्धका कथा स्वाभाविक रूपमा सुनिन्छन् । आधुनिक संगीत संयोजनभित्र नेपालीपन मिसाउने उनको शैली युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।
डिजिटल प्लेटफर्ममा पनि आयुषको उपस्थिति लगातार बढ्दो छ । उनका चर्चित गीत ‘माया पनि बसेकै थियो’ र ‘लैजाने छु तिमीलाई’ ले युट्युबमा ११ लाखभन्दा बढी भ्युज पाइसकेका छन् । यी गीतमार्फत उनले प्रेम र भावनालाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेका छन् । त्यस्तै, केही समयअघि सार्वजनिक भएको ‘कान्छी’ गीतले २४ लाखभन्दा बढी भ्युज पाउँदै उनको लोकप्रियतालाई थप उचाइमा पुर्याएको छ ।
आयुषलाई अन्य कलाकारभन्दा फरक बनाउने पक्ष भनेको संगीतलाई हेर्ने उनको दृष्टिकोण पनि हो । उनी केवल गायनमा मात्र सीमित छैनन्, आफ्ना गीतलाई दृश्य कथासँग जोड्ने सिर्जनाकर्ताका रूपमा पनि प्रस्तुत भइरहेका छन् । उनका म्युजिक भिडियोहरू छोटो फिल्मझैं अनुभूति दिने खालका हुन्छन्, जसले गीतको भावनालाई अझ गहिरो बनाउने काम गर्छ ।
डिजिटल माध्यममार्फत अन्तर्राष्ट्रिय श्रोतामाझ बढ्दो पहुँचसँगै आयुष मगर नेपाली संगीतको नयाँ पुस्ताका सम्भावनायुक्त कलाकारका रूपमा स्थापित हुँदै गएका छन् । आफ्नै शैली र प्रस्तुतिमार्फत उनले नेपाली संगीतलाई विश्वस्तरमा चिनाउन सकिने सम्भावनालाई थप बलियो बनाइरहेका छन् ।
0 प्रतिकृया