Follow us:


Follow us

१५ जेठ २०८३, शुक्रवार
१५ जेठ २०८३, शुक्रवार


१९औँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै

एक्सन खबर
जेठ, १५, २०८३


१९औँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं, १५ जेठ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १९ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

वि.सं २०६५ जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यस ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको थियो । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । नेपाली सेनाले बिहानै गणतन्त्र दिवसको सम्मानमा तोप पड्काएर दिवसको औपचारिक सुरुवात गरेको थियो ।

समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए । अघिल्ला वर्षहरूमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने निर्णय गरेका हुन् । गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिबाटै सम्बोधन गरिनुपर्ने सुझावसहित उनले शीतल निवासमा पत्र पठाएको जनाइएको छ ।

नेपालमा गणतन्त्र स्थापना हुनु अघि लामो राजनीतिक संघर्ष र जनआन्दोलन भएको थियो । वि.सं २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । उक्त समझदारीपछि लोकतन्त्र पक्षधर शक्तिहरू एकजुट बनेका थिए ।

वि.सं २०६२ फागुनदेखि सुरु भएको आन्दोलन चैतमा अझ सशक्त बन्दै लाखौं नागरिक सडकमा उत्रिएका थिए । जनआन्दोलनको दबाबपछि राजा ज्ञानेन्द्र संसद् पुनःस्थापनाका लागि बाध्य भएका थिए । त्यसपछि पुनर्स्थापित संसद्ले वि.सं २०६३ जेठ ४ गते राजसंस्थाको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो ।

त्यसैको जगमा वि.सं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र घोषणा गरेको थियो । यद्यपि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले वि.सं २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गरेको थियो । त्यसयता संघीय, प्रादेशिक र स्थानीय तहका सरकारहरू संविधानअनुसार सञ्चालन हुँदै आएका छन् ।

१९औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै गणतन्त्रको संरक्षण, सुशासन र समृद्धिको आवश्यकता औंल्याएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नागरिक अधिकार, समावेशी लोकतन्त्र र सामाजिक न्यायको मार्ग प्रशस्त गरेको उल्लेख गर्दै सुशासन, विकास र समृद्धि अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । उनले संविधानले परिकल्पना गरेको समावेशी विकास, आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई अझ सुदृढ र जीवन्त बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । समानता, समावेशिता र न्यायका आधारमा लोकतन्त्रलाई बलियो बनाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको रक्षा र सुदृढीकरण आजको मुख्य जिम्मेवारी भएको बताएका छन् । उनले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसजस्ता संस्थाहरूको संरक्षण अपरिहार्य रहेको बताएका छन् । लोकतन्त्रका संस्थाहरू कमजोर भए समाज बलियो बन्न नसक्ने र जनताले सुख नपाउने उनको भनाइ छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक मतभेद भए पनि राष्ट्रिय हितका विषयमा संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै परिवर्तनका उपलब्धिलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन आग्रह गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा देशभर प्रभातफेरी, सांस्कृतिक कार्यक्रम, दीप प्रज्वलन तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको छ । नागरिकहरूले नेपाली झण्डासहित उत्साहपूर्वक दिवस मनाएका छन् ।














0 प्रतिकृया