Follow us:


Follow us

१२ जेठ २०८३, मङ्गलवार
१२ जेठ २०८३, मङ्गलवार


नेपाल इन्जिनियरिङ कलेज र अटोल्याब टेक्नोलोजीजबीच सहकार्य

एक्सन खबर
जेठ, १२, २०८३


नेपाल इन्जिनियरिङ कलेज र अटोल्याब टेक्नोलोजीजबीच सहकार्य

भक्तपुर । भक्तपुरकाे चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र अटाेल्याब टेक्नाेलाेजिज् प्रा.लि. बीच विद्यार्थी नवप्रवर्तन, अनुसन्धान तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कलेजका प्रिन्सिपल दुर्गा प्रसाद भण्डारी तथा अटाेल्याबका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले हस्ताक्षर गरेका छन् । 

मंगलबार सम्पन्न सम्झौताअनुसार दुवै संस्थाले संयुक्त रूपमा ‘इन्क्युबेशन च्यालेन्ज प्रोग्राम’ सञ्चालन गर्ने भएका छन् । कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले नवीन सोच तथा परियोजना प्रस्ताव प्रस्तुत गर्नेछन् भने अटोल्याब टेक्नोलोजीजले छनोट भएका टोलीलाई आर्थिक सहयोग, मेन्टरशिप तथा इन्टर्नशिप अवसर उपलब्ध गराउनेछ ।

सम्झौताअनुसार कलेजका विद्यार्थीहरूलाई लक्षित गरी इनोभेसन चुनौती कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा सहभागी टोलीमा ३ देखि ४ जना सदस्य रहने व्यवस्था गरिएको छ । विद्यार्थीहरूले पेश गरेका प्रस्तावहरू दुवै संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा मूल्यांकन तथा छनोट गर्नेछन् ।

यस कार्यक्रमअन्तर्गत उत्कृष्ट तीन टोली छनोट गरिनेछ । प्रत्येक टोलीलाई ४० हजार आर्थिक सहयोग प्रदान गरिनेछ । साथै, अटोल्याबका विज्ञ तथा प्राविधिक टोलीबाट मेन्टरशिप र प्राविधिक मार्गदर्शन उपलब्ध गराइनेसमभदारी भएकाे कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए । 

सम्झौतामा इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरूलाई ३ महिनाको इन्टर्नशिप अवसर प्रदान गर्ने उल्लेख गरिएको छ । इन्टर्नशिप अवधिमा छनोट भएका विद्यार्थीहरूलाई कम्पनीको नीतिअनुसार प्रतिमहिना ५ हजारसम्म यातायात भत्ता समेत उपलब्ध गराइनेछ ।

कलेज र उद्योगबीचको सहकार्यले विद्यार्थीहरूमा अनुसन्धान, नवप्रवर्तन तथा व्यावहारिक सीप विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । ३२ वर्षे शैक्षिक इतिहास बाेकेकाे नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थीहरूकाे क्षमता विकास गर्न तथा उनीहरूलाई उद्याेग, प्रतिष्ठान र व्यवसायसँग जाेड्न विभिन्न संस्था तथा कम्पनीहरूसँग सहकार्य गर्दै आइरहेकाे छ । 














0 प्रतिकृया