लियाेनल मेसीकाे नेतृत्वमा अर्जेन्टिनाकाे फुटबल टाेली घाेषणा
एक्सन खबर
काठमाडौँ । विश्वकप २०२६ का लागि अर्जेन्टिनाले आफ्नाे टोली घोषणा गरेकाे छ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले सन् २०२६ को विश्वकपमा पनि टोलीको कमान्ड सम्हाल्ने भएका छन् । प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा ३८ वर्षीय मेसीलाई कप्तानीको जिम्मेवारी दिइएको हो ।
योसँगै मेसीले पुरुष फुटबलको इतिहासमा छैटौँ पटक विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाउने भएका छन् । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र ६ वटा विश्वकप खेल्ने अवसर पाएका छन् । हालसम्म २६ विश्वकप खेल खेलिसकेका मेसी यस प्रतियोगितामा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी समेत हुन् ।
विश्वकपका लागि घोषित टोलीमा सन् २०२२ को कतार विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मुख्य खेलाडीहरूलाई समेटिएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने २०२६ को विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा रहेको छ । अर्जेन्टिनाले जुन १७ मा अल्जेरियाविरुद्ध क्यान्सस सिटीमा खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ । त्यसपछि उसले डलासमा अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
अर्जेन्टिनाको टोली:
गोलकिपर: एमिलियानो मार्टिनेज, हुआन मुस्सो, जेरोनिमो रुल्ली ।
डिफेन्डर: निकोलास ओटामेन्डी, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलास टालियाफिको, गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, लियोनार्दो बालेर्दी, फाकुन्डो मेडिना ।
मिडफिल्डर: रोड्रिगो डी पाउल, लिएन्द्रो परेडेस, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जियोभानी लो सेल्सो, एसेकिएल पालासियोस, भालेन्टिन बार्को ।
फरवार्ड: लियोनल मेसी (कप्तान), लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलास गोन्जालेज, थियागो आल्मादा, जुलियानो सिमियोने, निको पास, होसे मानुएल लोपेज ।
0 प्रतिकृया