मधेश प्रदेशकै एकमात्र न्यूरो हस्पिटल सञ्चालनको अन्तिम तयारीमा
एक्सन खबर
जनकपुर । जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । मधेश प्रदेशकै एकमात्र न्यूरो हस्पिटलका रुपमा फागुन तेश्रो साताबाट हस्पिटल सञ्चालनमा आउन लागेको हो ।
न्यूरो हस्पिटलका सञ्चालक डा. विजय राउतका अनुसार हस्टिपलमा न्यूरो सेवासँगै अन्य विशेषज्ञ सेवाहरु समेत रहनेछन् । आइसियू, सिटी स्क्यान, इको जस्ता अत्याधुनिक उपकरण सहित खुल्न लागेको हस्पिटलमा न्यूरोसँगै, कार्डियो, गाइनो, लगायत जनरल सेवाहरुमा विशेषज्ञ डाक्टरहरु रहनेछन् ।
‘मधेश प्रदेश खासगरी जनकपुरमा सुविधासम्पन्न न्यूरो अस्पताल र विशेषज्ञहरु नहुँदा यहाँका विरामीहरु विराटनगर, काठमाडौं तथा भारतीय अस्पताल समेत जानुपर्ने बाध्यतालाई हल गर्न हामीले न्यूरो हस्पिटल सञ्चालनमा ल्याउन लागेका हौं ।’ हस्पिटलका सञ्चालक डा. विजय राउतले भने ।
जनकपुर न्यूरो हस्पिटलमा न्यूरोसँगै अन्य विशेषज्ञ सेवाहरु समेत रहनेछन् । डा. राउतका अनुसार हस्पिटललाई टाउकाको ट्रमा सेन्टरका रुपमा विकास गर्न खोजिएको छ । जहाँ टाउकोको चोटपटक, ब्रेन ट्युमर, सबै प्रकारका स्पाइनल समस्याको उपचार हुनेछ । यसका अलावा हस्पिटलमा अर्थोपेडिक्स, गाइनो, मुट सम्बन्धी, बालरोग तथा सामान्य शल्यक्रिया सेवा पनि प्रदान गर्नेछ । ‘हामीले अन्य विशेषज्ञ सेवाहरु पनि दिन्छौं तर, मुख्य फोकस न्यूरो सेवामा रहनेछ ।’ डा. राउतले भने ।
जनकपुर न्यूरो हस्पिटल २० करोड लगानीमा सञ्चालनमा आउन लागेको हो । यो अस्पताल सञ्चालनमा आएसँगै न्यूरोसँग सम्बन्धीत रोगको उपचारका लागि मधेश प्रदेशका जनता टाढाका अस्पतालहरुमा जानुपर्ने बाध्यता हट्ने छ । भने, सिमावर्ती भारतीय क्षेत्रका जनता समेत उपचारार्थ जनकपुर आउने भएकोले जनकपुरलाई स्वास्थ्य क्षेत्रको हवका रुपमा विकास गर्न समेत टेवा पुग्ने बताइएको छ ।
यसैविच, जनकपुर न्यूरो हस्पिटलले भारी मात्रामा चिकित्सक तथा कर्मचारी माग गरेको छ । जनकपुरधाम विसहारा चौकमा सञ्चालनको अन्तिम तयारीमा रहेको जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टरले सूचना प्रकाशित गरी दक्ष चिकित्सक तथा कर्मचारी माग गरेको हो ।
जनकपुर न्यूरो हस्पिटलले मेडिकल अफिसर, वि.एन. वि.एस्सी.नर्सिङ, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, रेडियोलोजी, फर्मासिस्ट, ल्याव असिस्टेन्ट, सि.एम.एलटी, एनेस्थेसिया असिस्टेन्ट लगायतका पदहरुमा दरखास्त आब्हान गरेको छ ।
अस्पताल प्रशासनका अनुसार एकाउन्टेन्ट, रिसेप्सनिस्टदेखि सुरक्षा गार्ड सम्म मागेको छ । शैक्षिक योग्यता पुगेकाले सम्बन्धीत विषयमा काउन्सीलको नविकरण प्रमाणपत्र सहित फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना
0 प्रतिकृया