Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


माेफसलकै प्रतिष्ठित बुढासुब्बा गाेल्डकप प्रतियोगिता चैत अन्तिम साताबाट

एक्सन खबर
फागुन, १८, २०७८


माेफसलकै प्रतिष्ठित बुढासुब्बा गाेल्डकप प्रतियोगिता चैत अन्तिम साताबाट

सुनसरी । काेराेना महामारी र आर्थिक संकटका कारण गतवर्ष हुन नसकेकाे अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिता याे वर्ष भने हुने भएकाे छ । आउँदाे चैत २६ गतेदेखि बुढासुब्बा गाेल्डकपको २३ औं संस्करण हुने आयाेजक धरान फुटवल क्लबले जनाएकाे छ ।

मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै क्लबले यहि चैत २६ देखि २०७९ बैशाख ३ सम्म प्रतियाेगिता हुने बताएकाे छ । कोरोना महामारीकाे जोखिम रहेपनि परिस्थिति न्युनिकरण हुँदै आएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै प्रतियोगिता हुनेछ । बुढासुब्बा गाेल्डकप फुटवल प्रतियाेगिता प्रदेश १ काे प्रतिष्ठित प्रतियाेगिता हाे ।

धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बाइस वर्ष देखी निरन्तर चल्दै आएको बुढासुब्बा गोल्डकपको इतिहासमा गतवर्ष कोरोनाका कारण प्रतियाेगिता गर्न नसकिएकाे जिकीर गरे । क्लबले सरकारी लगानी बिना स्थानीय साधन श्रोत जुटाएर ‘क’ श्रेणीको फुटवल प्रतियोगिता गर्न सफल भइरहेकाे जनाउँदै बुढासुब्बा गाेल्डकपकाे छुटै इतिहास भएको जिकीर पनि गरे । ‘जस्तो सुकै संकटको सामना गरेर भएपनि बुढासुब्बा फुटबल प्रतियाेगितालाई हामी निरन्तरता दिन्छौं । यसकाे छुट्टै इतिहास छ ।’

प्रारम्भिक तयारीका क्रममा २३ औं संस्करणकाे प्रतियाेगितामा दुइ भारतीय फुटबल टिम सहभागी गराइने गृहकार्य भैरहेको छ । शहिद स्मारक लिगमा भर्खरै उत्कृष्ट घोषित ३ क्लब, उपत्यका बाहिर मोफसलका २ र आयोजक धरान फुटबल क्लब समेत गरी ८ वटा टिम प्रतियोगितामा सहभागी हुने भनिएकाे छ ।

धरान उपमहानगरपालिकाले प्रतियोगिता आयोजना गर्न १८ लाख रुपैंया प्रदान गर्ने अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार उक्त रकम विजेतालाई १० लाख रुपैंया, उपविजेतालाई ५ लाख रुपैंया वितरणमा खर्च गरिने छ । ३ लाख रुपैंया घरेलु टिम धरान फुटबल क्लबको टोलीलाई पूर्व अभ्यासका लागि खर्च गरिने क्लबकाे याेजना छ । मुख्य पुरस्कारको रकम निश्चित भएपछि आयोजकलाई प्रतियोगिता आयोजना गर्न सहज भएको हाे ।

यसैगरी उत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार, म्यान अफ दि म्याच ७० हजार, सर्वाधिक गोलकर्ता २० हजार, उत्कृष्ट प्रशिक्षक १५ हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट स्ट्राइकरलाई १५/१५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने भनिएकाे छ ।

गोर्खा ब्रुअरीको प्रमुख प्रायोजनमा हुने प्रतियोगिताकाे अनुमानित बजेटमा ६६ लाख रुपैंया अनुमान गरिएको छ । खर्च ५१ लाख ३२ हजार रुपैंया हुने अनुमान छ । ‘यो प्रारम्भिक अनुमान हो, नाफा नै हुन्छ भनेर भन्न सकिन्न ।’ अध्यक्ष राईले भने ।

कोरोना महामारीका कारण स्थानीय साधन श्रोत जुट्न कठिन रहेकाे, गोल्डकपको २२ औं संस्करणमा प्रदेश १ सरकारले विनियोजन गरिसकेको रकम नदिएको र राष्ट्रिय खेलकुद परिषदले अहिलेसम्म रकम भुक्तान नगर्दा क्लबलाई संकट परेकाे बताइएकाे छ । त्यसाे त, धरान फुटवल क्लबलाई आर्थिक पारदर्शिता नराखेकाे आराेप विगत वर्षहरूदेखि नै लाग्दै आएकाे छ ।













0 प्रतिकृया