‘एन्फाकाे त्रुटिका कारण फुटबल र खेलाडीमा दुर्घटना नहोस्’
एक्सन खबर
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका असन्तुष्ट चार क्लबले फुटबल खेल र खेलाडीमा दुर्घटना हुन नदिन आग्रह गरेको छ्न् । आइतबार शीर्ष डिभिजनको संकटा क्लब, न्युरोड टिम एन आए टी, थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका हुन् ।
‘एन्फाबाट भएको त्रुटिका कारण भविष्यमा फूटबल खेल र खेलाडीहरुमा कुनै दुर्घटना नहोस्’ प्रेस विज्ञप्ति भनिएको छ । मनाङले कीर्तिमानी आठ पटक, एन आर टीले पाँच पटक र संकटा र थ्री स्टारले समान तीन पटक शीर्ष डिभिजन लिगको उपाधि जितिसकेको छ ।
लिग चलिरहेको अवस्थामै नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने मिडियाबाटै थाहा भएको चार क्लबले जनाएका छन् । यस्तै क्लबसँग रिलिज पेपर नलिइ मार्की खेलाडी र अक्सन गराउन/नगराउन भन्दै ध्यानाकर्षणसहित दुई पटक आठ क्लबले एन्फा समक्ष पत्र काटेका थिए ।
नेपालको फुटबल विकासमा गौरवमय इतिहास बोकेका क्लबहरु निरन्तर सक्रिय रहिरहेको अवस्थामा क्लबहरुको अस्तित्वलाई नै समाप्त पार्ने खालको षड्यन्त्र सहित लागेको आभाष सहित ‘ए’ डिभिजनका क्लबहरुले संयुक्त वक्तव्यमार्फत र एन्फालाई फिफा नियमानुसार आफूहरुसँग खेलाडीहरुको अनुबन्धन बाँकी रहेको अवस्थामा खेलाडी बोलकबोल नगर्न र कसैलाई गर्न नदिनु भन्ने आशयले अनुरोध र चेतावनी सहितको पत्र सामाजिक सञ्जाल मार्फत र एन्फा कार्यालयमा दिई सचेत गराएका थियो ।
‘एन्फाको क्यालेण्डरमा नसमेटिएको प्रतियोगिताबाट गरेको गैरकानुनी कार्यलाई एन्फाको आकस्मिक बैठकबाट रोक्नु भन्ने निर्णय गरि एन्फाका महासचिवको हस्ताक्षरबाट गरेको आधिकारिक आदेशलाई नै अटेरी गर्ने आयोजकको वर्तावले समग्र फूटबल क्लबहरु अहिले त्रसित बनेको अवस्था छ’ विज्ञप्तिमा भनिएको छ ।
‘अखिल नेपाल फुटबल संघको इतिहास नै हेर्ने हो भने पनि क्लबहरु पटक पटक एन्फा नेतृत्वबाट ठगिएका र पिल्सिएका छौं । वर्तमान अवस्था नेपालको फुटबल र खेलाडी हितमा नरहेको पटक पटक एन्फा नेतृत्वलाई बुझाउँदा एन्फा पदाधिकारीहरुले आफ्नो गल्ती क्लबहरु सँगको बैठकमा स्वीकार गरेको थियो । आफ्नो गल्ती स्विकार गरेको अवस्था रहेपनि यस प्रति कुनै पहल नगर्नु र बोलकबोल रोक्न भनि एन्फाले पठाएको पत्रलाई आधिकारिक पत्र नमान्ने केन्द्रीय सदस्यलाई समेत कुनै कारवाहि नगर्नु, एन्फा अध्यक्षको एकल हस्ताक्षर र विना मितिको सम्झौता पत्र (MOU) र यसमा एन्फाका अन्य पदाधिकारीहरुबाट अनभिज्ञता प्रकट गर्नु हामी सबैको लागि घोर आश्चर्यको विषय थियो ।’ जारी विज्ञप्तिमा भनिएकाे छ ।
चार क्लबले सम्झौता लुकाएर राख्नु, एन्फा क्यालेण्डरमा रहेको राष्ट्रिय लीग गर्न नचाहनु, अहिले भइरहेको मोफसल प्रतियोगिताहरुलाई वेवास्ता गर्नु र एएफसी कपलाई समेत प्रभावित पार्ने खालका गतिविधिबाट एन्फा नेतृत्वले चालेको कदम प्रति खेद प्रकट गरिएकाे छ ।
0 प्रतिकृया