तमोर कोरिडोर सडकको कालोपत्रे प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन
एक्सन खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तमोर कोरिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने काम सम्पन्न भएकाले कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।
पाँचथरको तुम्बेवा गाउँपालिकामा सोमबार आङना–मौवा वृहत लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै देउवाले भने, ‘तमोर कोरिडोर आयोजनाको ट्रयाक खोलिसकिएको छ । छिटो कालोपत्रेको प्रक्रिया थाल्न म निर्देशन दिन्छु ।’
तमोर कोरिडोर कालोपत्रे भए पूर्वी पहाडमा उत्पादित कृषि उपजदेखि वन पैदावरसम्मका वस्तुको निर्यातमा सहजता हुने छ । आयोजनाको एउटा खण्ड पाँचथरको माझिटारदेखि सुनसरीको चतरासम्मको निर्माण कार्यको जिम्मा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयलाई छ ।
अर्को खण्ड माझिटारदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म भने उत्तर–दक्षिण–दोभान ओलाङचुङगोला कार्यालयलाई निर्माणको जिम्मा छ । यी दुई आयोजना कार्यालयलाई कालोपत्रेको प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् । यस्तै, विस्तृत परियोजना प्रतिवेदन तयार भएको सप्तमी–दशमी–मौवा–आङ्ना–लखुवादोभान मोटरबाटो निर्माणको काम पनि छिट्टै थालनी हुने बताए ।
तमोरको पानीबाट ८ हजार मानिस लाभान्वित
प्रधानमन्त्री देउवाले पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकाका तीन वडालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको तमोर लिफ्टिङ खानेपानी आयोजनाको पनि उद्घाटन गरेका छन् ।
देउवाले आयोजना सञ्चालनमा अबरुद्ध नहोस् भनेर नियमित मर्मत सम्भार गर्न उपभोक्ता समितिलाई आग्रह गरे । सुख्खाग्रस्त क्षेत्रका नागरिकलाई खानेपानी उपलब्ध गराउन पाउँदा खुसी लागेको उनले बताए ।
आयोजनालाई दिगो र भरपर्दो बनाउन उपभोक्ता समिति र जिल्लास्थित खानेपानी डिभिजन कार्यालयसँगै स्थानीय सरकारलाई समन्वय गर्न पनि प्रधानमन्त्री देउवाको आग्रह छ । आयोजनाबाट तुम्बेवा गाउँपालिका वडा नम्बर १ आङना, वडा नम्बर २ र ३ मौवाका गरी करीब ८ हजार नागरिक लाभाविन्त हुने छन् ।
0 प्रतिकृया