Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


करणको ह्याट्रिकले नेपाल एक खेलअघि नै फाइनलमा

एक्सन खबर
चैत, १७, २०७८


करणको ह्याट्रिकले नेपाल एक खेलअघि नै फाइनलमा

काठमाडौं । करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि नेपाल एक खेल अगावै घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शृंखलाअन्तर्गत बिहीबार सम्पन्न खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ३७ रनले पराजित गर्दै नेपालले एक खेलअगावै फाइनलमा प्रवेश गरेकाे हाे ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै एक सय ६६ रनमात्र बनाउन सक्यो ।

पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ६२ रन बनाए । उनले ४७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक टोनी उराले ४३, सेसे बाउले २५ र नोर्मान भानुआले १७ रन बनाए ।

पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले १९औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः पिएनजीका चाड सोपर, सिमोन अटाइ र नोसैना पोकनाको विकेट लिए । ३.४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिए ।

यस्तै, सोमपाल कामी र अविनाश बोहराले समान दुई विकेट लिँदा कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रनको योगफल खडा गरेको थियो ।

नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउँदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाएका थिए ।

त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे । यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भएका थिए ।

पिएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुआ र नोसैना पोकनाले समान एक विकेट लिएका थिए ।













0 प्रतिकृया