सुनसरी । बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले देखिएको तरलता आउँदो बैशाख १५ गतेबाट समाधान हुँदै जाने बताएको छ । आज धरानमा पत्रकार सम्मेलन गरी सहकारीले आउँदो बैशाख १५ गतेबाट बचत कर्ताहरुको भुक्तानी नियमित गर्ने जनाएको हो ।
बराह सहकारीका अध्यक्ष मानबहादुर दियालीले विश्वव्यापी कोरोना महामारीका कारण सृजित लामो लकडाउनका कारण विभिन्न क्षेत्रमा गरिएको कर्जा प्रवाह समयमै संकलन नहुँदा बराह ग्रुपमा आर्थिक समस्या आएपनि आउँदो बैशाख १५ गतेदेखि समाधान हुने बताए । ‘बराह ग्रुप धरानबासी स्थानीय जनताहरुको हो । यसलाई डुबाउने, बराहमा विस्वास राख्नेहरुलाई धोका दिने काम हामीबाट हुँदैन । संस्थामाथि आर्थिक संकट आउन थालेदेखि नै समाधानका उपायहरु अपनाइएको छ । आउँदो बैशाख १५ गतेदेखि सबै समस्या हल गर्दै जानेछौं ।’ पत्रकार सम्मेलनमा बोल्दै दियालीले भने ।
अध्यक्ष दियालीले आउँदो बैशाख १५ गतेसम्म सम्पूर्ण शेयर सदस्य, बचतकर्ताहरुलाई धैर्यधारण गर्न आग्रह गर्दै ज्येष्ठ नागरीक, स्वास्थ्योपचार, शिक्षा लगायत फरक क्षमता भएका व्यक्तित्वलाई पहिलो प्राथमिकतामा राखेर भुक्तानी गरिने पनि बताए । ‘बराह बचत तथा ऋण सहकारीले सहकारी ऐन अनुसार सञ्चालनमा छ, तपाईंहरुले हाम्रो पैसा डुब्यो भनेर चिन्ता लिनुपर्दैन । मात्र केही दिन धैर्य धारण गरिदिनुस ।’ दियालीले भने ।
सहकारी ऐन २०७४ नियमावली २०७५ र संस्थाको विनियम बमोजिम वित्तिय योजना ज्ञान, शीप र क्षमतालाई उच्चतम सदुपयोग गरेर स्वस्थ्य तवरले जिम्मेवार पूर्ण व्यवहारका साथ कारोबार गर्दै अगाडि बढेकोले केही दिनमै बराहको समस्या समाधान हुने बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले बताए ।
कोरोनाभाईरस पछिको विश्व बजारको अवस्था सँगै देशमा हाल देखिएको वित्तीय असन्तुलन, तरलता अभावले सबै क्षेत्रलाई प्रभावित तुल्याएको र त्यसबाट बराह ग्रुप पनि अछुतो रहन नसकेको अध्यक्ष लामिछानेले जिकीर गरे । ‘आम शेयर सदस्य, बचतकर्ता सामू गरेको प्रतिबद्धता पश्चात विभिन्न प्रयत्नहरु, प्राविधिक असहजता मै तोकिएको समयमा भुक्तानी गर्न सकेनौ यसबाट पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।’ बराहका ग्रुप अफ कम्पनीका अध्यक्ष लामिछानेले भने ।
बराहले भुक्तानीको सेवा निक्षेप वर्गीकरणको आधारमा गरिने बताएको छ । ज्येष्ठ नागरीक, स्वास्थ्य उपचार, शिक्षा लगायत फरक क्षमता भएका व्यक्तित्वलाई पहिलो प्राथमिकतामा राखिने बताइएको छ ।
‘हामी सबैको बराह आर्थिक उन्नतीको सहारा’ भन्ने मुल नाराका साथ नुनदेखि सुनसम्मको कारोबार गर्दै आइरहेको बराहले सहकारी मार्फत समुदायबाट रकम संकलन गरी ब्यवसायिक क्षेत्रमा लगानी गर्ने गरेको छ । ‘भूपूहरुले कुनै समय ‘‘बराह पेन्सन नो टेन्सन’’ भन्नुहुन्थ्यो त्यसमा मलाई गर्व लाग्छ । तर, प्रकृतिले अहिले हामीलाई साथ दिएन । यद्यपि बराहले कसैको विस्वास गुमाउने छैन ।’ अध्यक्ष लामिछानेले भने ।
२०५२ सालमा बराह स्थापना भएयता धेरै चुनौतिहरुको सामना गरेको बताउँदै लामिछानेले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै व्यवसायीक रुपमा अगाडी बढ्दै जाँदा २०७२ सालमा भूकम्पको सामना पनि गरेको बताउँदै अहिले कोरोनाको सामना गर्दा हरेस नखाएको जिकीर गरे । ‘हाम्रो अभियान अझै टुंगिएको छैन, हामी डेभलप कम्पनी हैनौं । अझै संघर्ष गर्नुछ, गर्छौं । समयलाई कुर्न सक्नुपर्छ । यो परिस्थितिबाट हामी चाँडै उक्सने छौं ।’ लामिछानेले भने ।
धरानबाट स्थापित भएर देश विदेशमा पुगेको बराह आजको दिनमा आर्थिक पाटोमा सुखको अनुभुती दिन नसकेपनि आउँदा दिनहरुमा सुखको बाटोमा जाने र सहकारीको समस्या समाधान गर्न बराह ग्रुप अफ कम्पनी एक भएर लाग्ने प्रतिबद्धता जनाए ।
कोरोना संक्रमणको पहिलो लहरको अन्त्य नहुँदै धरानकै गोर्खा डिपार्टमेन्ट स्टोर खरिद गरेको बराहले लगत्तै कोरोना संक्रमणको दोश्रो लहरको सामना गर्नुपरेपछि वित्तीय संरचनामा समस्या आएको हो । ‘लकडाउनले विश्वकै आर्थिक अवस्था ठप्प हुँदा सहकारीले विभिन्न क्षेत्रमा लगाएको कर्जा असुलीमा प्रत्यक्ष असर परेकोले निक्षेप भुक्तानीमा समस्या आएको हो । अब आर्थिक गतिविधिहरु चलायमान भएका छन्, कर्जा असुलीको कार्यहरु धमाधाम भइरहेकाले चाँडै समस्या समाधान हुन्छ ।’ बराह सहकारीले भनेको छ ।
0 प्रतिकृया