बर्दिबासमा रेल्वे स्टेशन बनाउन नदिने स्थानीयकाे चेतावनी
एक्सन खबर
महोत्तरी । ब्रोडजेग रेल्वेको पूर्वधार निर्माण आयोजनाले बर्दिबासमा जग्गा अधिग्रहण गरेर रेल्वे स्टेशन बनाउने प्रक्रिया अगाडि बढाए पनि स्थानीयवासीले स्टेशन बनाउन नदिने चेतावनी दिएका छन् । स्थानीयवासीले शुक्रबार पत्रकार सम्मेलन आयोजाना गरी बर्दिबास जस्तो सानो ठाउँमा रेल्वे स्टेशन बनाउँदा थप भिडभाड र होहल्ला हुने भएकाले स्टेशन बनाउन नदिने घोषणा गरेका हुन् ।
बर्दिबास कै सेरोफेरोमा सरकारी जग्गा प्रसस्त हुँदाहुँदै बस्तीको बीचमा स्टेशन बनाउँदा धेरै ठूलो असर पर्ने स्थानीयको ठहर छ । रेल्वे स्टेशन बन्ने पक्का भएपछि सरकारले २०७३ सालमा करिब ६० बिगाहा जमिन सहमतीमै सरकारले अधिग्रहण गरेको थियो ।
यता, अधिग्रहणमा परेका जग्गाधनीको निर्धारित मुआब्जामा समेत असन्तुष्टि छ । उचित मुआब्जाको पर्खाइमा रहेका स्थानीयले न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा निर्धारण भएपछि असन्तुष्टि जनाएका हुन् ।
मुआब्जा निर्धारण समितिले एक बर्ष अगाडि नै अधिग्रहण गरेको जग्गालाई विभिन्न ३५ शीर्षकमा विभाजन गरी न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा दिने निर्णय गरेको थियो । चलनचल्तीको मूल्यभन्दा निर्धारित मुआब्जा निक्कै कम भएको बताउँदै आएका स्थानीयले अहिले भने रेल्वे स्टेशननै बन्न नदिने बताएका छन् ।
मुआब्जा पीडितहरूले रेल्वे स्टेशनले विकासभन्दा पनि विनाश ल्याउने भएकाले आवश्यक्ता महशुष नगरेको बताए । ६ बर्षदेखि जग्गा अधिग्रहण गरेर किसानलाई बन्धनमा राखेको पनि पीडितहरूको भनाइ छ । ‘मूल्य पुनरावलोकनको लागि प्रयास गर्दा कतै सुनुवाइ भएन अब हामी शसक्त प्रतिवाद गर्छौं ।’ संघर्ष समितिका डाकराज पोखरेलले भने ।
बर्दिबासबाट मुआब्जा भन्दा पनि रेल्वे स्टेसन नै हटाउनु पर्ने स्थानीय नेता डा. कृष्ण हमालको भनाइ छ । बर्दिबास जस्तो सानो ठाउँमा बिघौ जग्गा अधिग्रहण गरेर बनाउने रेल्वे स्टेशन जरुरी नभएको हमालको जिकिर छ । रेल्वे स्टेशन बन्दा ८४ परिपार बेघर हुने उनको भनाइ छ । करिब दुई सय घरधुरी अहिले जग्गा अधिग्रहणको कारणले पीडित बनिरहेको मुआब्जा संघर्ष समितिले जनाएको छ ।
0 प्रतिकृया