Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


‘आफ्नाे गाउँ आफैं बनाउँ’ काे ब्याज खाँदैछन् नेपालका कम्युनिस्ट

एक्सन खबर
बैशाख, ९, २०७९


‘आफ्नाे गाउँ आफैं बनाउँ’ काे ब्याज खाँदैछन् नेपालका कम्युनिस्ट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि वि.स.२००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् । स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसाे १ बजे कार्यक्रम आयाेजना गर्दैछ । यही अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय थापथलीदेखि च्यासलमा सार्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यमा हुने कार्यक्रममा कम्युनिस्ट याेद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिवद्धतापत्र सार्वजनिककाे कार्यक्रम रहेकाे एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

स्थापना दिवसका अवसरमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  शुभकामना दिएका छन् । 'आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो,' उनले भनेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुन् ।  उनीहरूले भारतको कलकत्तामा पार्टी स्थापना गरेका थिए । पार्टी स्थापना भएको ४५ वर्षपछि २०५१ मा पहिलो पटक कम्युनिस्ट पार्टी सत्तामा पुगेको थियो ।

मनमोहन अधिकारी नेतृत्वमा गठन भएको सरकारले अघि सारेको सामाजिक सुरक्षाको कार्यक्रमअन्तर्गत ‘वृद्धा भत्ता र आफ्नो गाउँ आफैं बनाऔँ’ लगायत कार्यक्रम निक्कै लोकप्रिय बन्यो । मनमाेहन अधिकारीले ल्याएकाे  ‘आफ्नाे गाउँ आफैं बनाउँ’  अभियान र बृद्ध भत्ताकै भरमा नेपालमा कम्युनिस्टहरूले खासगरी नेकपा एमालेले राजनीति गरिरहेकाे राजनीतिक विष्लेशकहरूकाे धारणा छ ।

२०५१ सालपछि कम्युनिस्ट पार्टीहरूले पटकपटक सत्तारोहरण गरिसकेका छन् । तर, उनीहरूले भन्दै आएको सर्वहारा वर्गको जनजीविकाको सवालमा भने परिवर्तन आएको छैन । जसले गर्दा कम्युनिस्ट पार्टीहरू आलोचित छन् ।

अधिकारीबाहेक कम्युनिस्ट नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कम्युनिस्ट कित्ताबाट केही वर्षअघि अलग भएका डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिसकेका छन् ।

तर, अधिकारी नेतृत्वको ९ महिने अल्पमतको सरकारले अघि सारेका कार्यक्रमहरू अझैसम्म लोकप्रिय छन् । जसको राजनीतिक लाभ ओली नेतृत्वको नेकपा एमालेले प्रमुखख रूपमा लिँदै आएको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले भने १० वैशाख २००६ लाई स्थापना भएको मिति मान्ने भएको छ । स्थानीय तह निर्वाचन २०७९ को घोषाणापत्रको पृष्ठभूमिमै एकीकृत समाजवादीेले नेकपाको स्थापना १० वैशाख २००६ मा भएको उल्लेख गरेको छ ।

पार्टी महासचिव डा. बेदुराम भुसालका अनुसार स्थापना भएको मिति इस्वी सम्वतमा भएको र त्यसलाई विक्रम सम्वतमा रूपान्तरण गर्दा १० वैशाख भएको दाबी गरेका छन् ।
 













0 प्रतिकृया