विगतमा पुरा गर्न नसकेका रेल, पानी जहाजका सपना यसपल्ट पनि एमालेका चुनाबी नारा
एक्सन खबर
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । घाेषणापत्रमा ०७४ सालकाे निर्वाचनमा घाेषणा गरिएका तर, पुरा गर्न नसकेका रेल, पानीजहाज, केवुलकार लगायत विकासका पूर्वाधारका याेजनालाई प्राथमिकताका साथ समावेश गरेकाे छ ।
ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा स्थानीय जनप्रतिनिधिलाई अनुशासित र मर्यादित बनाउन विभिन्न ६ वटा संकल्प गरिएको छ ।
एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले भनेकाे छ ‘हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेछन,, हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्, हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन्, हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्, हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्, हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछन् ।’
यस्तै घाेषणापत्रमा सार्वजनिक यातायात सेवालाई प्रभावकारी बनाउन रेल सेवाको विकास गर्ने जनाएको छ । ‘सार्वजनिक
यातायात प्राधीकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने ।
ठूला सहरहरूमा रेल, बस र्यापिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास
गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने,’ घोषणापत्रमा
एमालेले लेखेको छ ।
अघिल्ला स्थानीय, संघ र प्रदेशको चुनावमा पनि
एमालेले घोषणापत्रमा रेल र जल यातायात सेवालाई उच्च प्राथमिकता दिएको थियो ।
तर दुवै कुरा उसले पुरा गर्न सकेको थिएन । यसपटक सार्वजनिक गरेको
घोषणापत्रमा पनि एमालेले रेल र जल यातायात दुवै सेवालाई प्राथमिकतामा
राखेको छ ।
घोषणापत्रमा एमालेले सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता
र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको
विकास गर्ने जनाएको छ । सडक, हवाइ, जल, केबुलकार र रोपवे,
दुरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग
गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने दाबी
घोषणापत्रमा गरिएको छ ।
चुनावी घोषणापत्रमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधारमा जोड दिइएको छ । ‘गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दैसामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने,’ घोषणापत्रमा एमालेले भनेको छ, ‘विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास लगायत आधारभतू तथा माध्यमिक शिक्षामा सहज पहुँच पुर्याउने ।’
बीचैमा पढाइ छाड्ने समस्याको समाधान गर्ने र विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।
विपदका कारण विद्यालय जानबाट बञ्चित बालबालिकाहरूका लागि विशेषव्यवस्था गर्ने, पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने, प्रौढ तथा अभिभावक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, जीवन पर्यन्त सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी कार्य सञ्चालन गर्ने प्रतिवद्धता एमालेले जनाएको छ ।
‘पुस्तकालय स्थापना गर्ने, सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रतिष्पर्धी र सहज पहुँचभित्र पुर्याउन पर्याप्त कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, आवश्यक जनशक्ति, तालिम, खेलकुद मैदान, विद्यालय यातायात सुविधा सनिश्चित गर्ने पनि घोषणापत्रमा जनाइएको छ ।
‘बालिकामैत्री शौचालयको व्यवस्था, स्यानिटरी प्याडको नियमित र भरपर्दाे वितरण, बालिका छात्रवृत्ति, विद्यालय नर्स सेवा कार्यक्रमलाई निरन्तरता दिई विस्तार गर्ने, विद्यार्थीका लागि पोशाक, दिवा खाजा, पाठ्यसामग्री जस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने,’ घोषणापत्रमा लेखिएको छ ।
प्रत्येक पालिकामा कम्तिमा एउटा प्राविधिक माध्यमिक विद्यालय स्थापना गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । ‘माध्यमिक शिक्षालाई क्रमशः निशुल्क र अनिवार्य बनाउने, सामुदायिक विद्यालयको गुणस्तर विकास गरेर स्थानीय विद्यालयमै पढ्ने वातावरण निर्माण गर्ने,’ घोषणापत्रमा उल्लेख छ ।
सबैभन्दा योग्यलाई शिक्षण पेशामा आकर्षित गर्न आवश्यक नीति र योजना तरजुमा गर्ने पनि एमालेले जनाएको छ ।
यस्तै एमालेले स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ । घोषणापत्रमा पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने जनाइएको छ ।
आरोग्यता, स्वास्थ्य परीक्षण, निशुल्क आधारभतू स्वास्थ्य सेवा, जटिल रोगको निशुल्क उपचार, विमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था मार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने दाबी पनि एमालेले गरेको छ ।
‘प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने,’ घोषणापत्रमा उल्लेख छ ।
निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको पहल, समन्वय र सहकार्यमा निर्मित अस्पतालद्वारा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुने कुरा सुनश्चित गर्ने पनि घोषणापत्रमा लेखिएको छ । स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन् स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गंभीर रोगको पूर्वपरिक्षण (स्क्रिनिङ) र पाठेघरको क्यान्सरको निशुल्क परीक्षण गर्ने प्रतिवद्धता एमालेले गरेको छ ।
‘प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्ने, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्तिको स्वास्थ्य विमा निशुल्क गर्ने,’ घोषणापत्रमा लेखिएको छ ।
स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गम्भीर प्रकृतिको अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलव्ध गराउने व्यवस्था गर्ने प्रतिवद्धबता एमालेको छ ।
एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गरी आगामी दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी पुर्याउने जनाएको छ । ‘प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था मार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘एक घर एक धारा अभियान अन्तरगत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गर्ने ।’
खानेपानी व्यवस्थापनमा जनसहभागिता सुनिश्चित हुनेगरी उपयक्तु संयन्त्र निर्माण गर्ने, ठूला खानेपानी आयोजना सङ्घ र प्रदेशसँगको सहकार्यमा निर्माण गर्ने प्रतिवद्धिता पनि घोषणापत्रमा गरिएको छ ।
यस्तै विपन्न परिवारलाई घरायशी प्रयोगको लागि विद्युत निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । ‘प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत निशुल्क उपलव्ध गराउने,’ एमालेको घोषणापत्रमा उल्लेख छ ।
विद्युत उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय बृद्धि र पर्यावरण संरक्षण गर्ने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको छ ।
‘ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्नेगरी आवश्यक कानूनी र संरचनात्मक प्रबन्ध गर्ने । नेपाल विद्युत प्राधीकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गर्ने,’ घोषणापत्रमा भनिएको छ ।
पालिकामा सञ्चालित जलविद्युत आयोजनाबाट स्थानीय समुदायलाई साझेदार र लाभान्वित बनाउन पहल गर्ने पनि एमालेले जनाएको छ ।
0 प्रतिकृया