विराटनगर महानगरको प्रमुखमा पूर्वस्ववियू सभापतिले बाजी मारे
एक्सन खबर
काठमाडौं । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ । संघीय सांसद घनश्याम खतिवडाले पार्टीको तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको बताए ।
थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् । मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् । विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशकयता पार्टी राजनीतिमा क्रियाशील छन् ।
विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न पटक पटक संघीय मन्त्री भइसकेका नेता लालबाबु पण्डितको पनि चाहना थियो । अन्य नेताहरू गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेतलगायत पनि महानगरपालिकाको प्रमुख पदका आकांक्षी थिए । तर, अन्तिममा थापाले उम्मेदवार हुने अवसर पाए ।
सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार भने याम कुमार सुब्बा हुने भएका छन् । पुख्र्यौली घर ताप्लेजुङ भएका उनी पनि लामो समयदेखि इटहरी रहेर एमालेकाे राजनीतिमा सक्रिय छन् । सुनसरीकै धरान उपमहानगरपालिकामा बर्तमान उपमेयर मञ्जु भण्डारीले टिकट पाएकी छन् ।
यस्ताे छ थापाकाे राजनीतिक इतिहास
विराटनगरमा रहेर लामो समयसम्म पार्टीको सक्रिय राजनितिमा रहेका थापा युवाहरुका माझमा लोकप्रिय छन्। विद्यालयदेखि नै राजनितिमा सक्रिय थापाले पार्टीका विभिन्न तहमा रहेर नेतृत्व दिँदै आएका छन् । थापाले महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा विद्यार्थी कमिटीको सेल सचिव, इलाका कमिटीको सदस्य हुँदै दुई कार्यकाल स्ववियू सभापति भएका थिए ।
हाल नेकपा एमालेकाे विराटनगरमहानगरपालिका अध्यक्ष रहेका थापा २०६२/०६३ को जनआन्दोलन ताका पटक पटक प्रहरीको गिरफ्तारमा परेका थिए भने शाहिकालको आन्दोलनकै क्रममा पक्राउ परि २८ दिन जेल जीवन समेत व्यतित गरेका थिए ।
नेकपा एमालेका विभिन्न कमिटीमा रहेर नेतृत्व गरेका उनी नेकपा एमाले महानगर कमिटिको इन्चार्ज, संयोजक र अध्यक्ष हुँदै लगातार १२ वर्षदेखि महानगरमा पार्टीको नेतृत्वमा थिए । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यको समेत जिम्मेवारी पूरा गरेका थापाले प्रदेश कमिटी सदस्य समेत भएका थिए ।
0 प्रतिकृया