लोसपाको हेराइमाः जसपा माओवादी केन्द्रको ‘भाई’ कांग्रेस अनुदारवादी
एक्सन खबर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनता समाजवादी पार्टी (जसपा), नेपाललाई नेकपा (माओवादी केन्द्र) को भाई पार्टी भएको बताएको छ । लोसपाले शुक्रबार स्थानीय निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरेको छ ।
‘संविधान सभालाई निर्णायक मोडमा पुर्याउन भूमिका खेलेको र मधेश आन्दोलनको दौरान अग्र मोर्चामा रहेको माउ पार्टी मधेशी जनाधिकार फोरम, नेपालको साखलाई धुलिसात गर्दै अहिले मधेशको मुद्दालाई नै बिर्सिएर जसपा, नेपाल नेकपा (माओवादी केन्द्र) को भाइ पार्टीको रुपमा देखिएको छ,’ लोसपाको घोषणापत्रमा भनिएको छ ।
साेच, व्यवहार र प्रस्तुतिका कराणले जसपा असान्दर्भिक हुँदै गएको लोसपाको निस्कर्ष छ । जसपा नेपालको लागि अहिले सत्ता प्राप्ति एक मात्र उदेश्य रहेको जनाइएको छ । ‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कुनै समयमा समग्र मधेश र सबै मधेशीको प्रतिनिधित्व गर्थे तर अहिले उनको राजनीति केही सीमित जातीय समूहको तुष्टीकरणमा खुम्चिएको छ,’ लोसपाले घोषणापत्रमा भनेको छ, ‘यो पार्टीले मधेशी, थारु, जनजाति र अन्य अल्पसंख्यकको मुद्दा त्याग गरेको मात्र नभएर समग्र मधेश–थरुहट आन्दोलनलाई अवमूल्यन गरेको छ ।’
जसपा नेपालले अहिले कुनै विचार, कुनै वर्ग वा कुनै मुद्दाको प्रतिनिधित्व नगर्ने दाबी लोसपाको छ । ‘यसको एक मात्र उदेश्य जसरी पनि, जुनसुकै शर्तमा र जोसँग भए पनि सरकारमा प्रवेश गर्ने बाहेक अरु केही देखिंदैन । दुर्भाग्य नै भन्नु पर्ला, कुनै एक कालखण्डमा परिवर्तनको संवाहक भएको यो पार्टी अहिले जातीय मतको जोड–घटाउ, संसदको अंकगणित र अन्य कम्युनिस्ट पार्टीहरु जस्तै निम्नस्तरीय राजनीतिक उद्यमशीलतामा लिप्त भएर आफुलाई औचित्यहीन, उदेश्यहीन र सन्दर्भहीन बनाउनमा व्यवस्त छ,’ लोसपाले जसपामाथि आरोप लगाएको छ ।
यस्तै, लोसपाको नजरमा नेपाली कांग्रेस–अनुदारवादी, कम्युनिस्ट पार्टीहरु–विकास विरोधी भएकाे बताएकाे छ । लोसपाले नेपाली कांग्रेसलाई ‘नाम ठूलो, काम सानो’ गर्ने पार्टीको रुपमा चित्रण गरेको छ ।
देशको समृद्धि, नयाँ नेतृत्वको विकास, अग्रगामी परिवर्तनका मुद्दा, चुस्त र इमानदार शासन–प्रशासन र युवा नेतृत्वलाई अवसर आदि विषयमा नेपाली कांग्रेस अत्यन्तै उदासिन र असफल देखिएको निस्कर्ष लोसपाको छ ।
‘जबजब मधेसी, शिल्पी/दलित, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्नवर्ग लगायत वहिष्करण तथा वन्चितीकरणमा परेका र पारिएकाहरुको पहिचान, अधिकार र अवसरको कुरा गरिन्छ, नेपाली कांग्रेस एक जिम्मेवार राष्ट्रिय दलको भूमिकालाई बिर्सदै अत्यन्तै संकीर्ण, अनुदारवादी र जातीय दलको रुपमा आफूलाई संकुचित गर्छ,’ घोषणापत्रमा भनिएको छ ।
लोसपाले नेपालका कम्युनिस्ट पार्टीहरुलाई ‘विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी’ भनेको छ । नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि कम्युनिस्ट पार्टीहरुले आफ्नो औचित्य सावित गर्न नसकेको लोसपाले जनाएको छ ।
‘जुन पार्टीले चुनावमा अंकगणितीय अग्रताका लागि राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई पनि बिथोल्न पछि पर्दैन, ती संगठनहरु राजनीतिक दल नै हो र त्यसको औचित्य छ भनेर कसरी भन्ने ?,’ लोसपाले घोषणापत्रमा प्रश्न गरेको छ ।
नेपालका कम्युनिस्ट पार्टीहरु स्वरुपमा राजनीतिक दल देखिएता पनि यी विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र तथाकथित उपल्लो जातिहरुको राजनीति उद्यम गर्ने संगठन भएको निस्कर्ष लोसपाको छ ।
0 प्रतिकृया