अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीले के भने ?
एक्सन खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्न आह्वान गरेकी छन् । १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘यस अवसरमा मुलुकको उद्योग, कृषि, निर्माण र सेवालगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु ।’
उनले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रपति भण्डारीले संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको स्मरण गराएकी छन् । ‘न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हाम्रो दायित्व हो,’ उनले भनेकी छन् ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले भनेका छन्, 'निष्कृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको संगठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।
श्रमिकको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको उनकाे भनाइ छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगारस् विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सरकारले श्रमिक दिवस मनाउँदैछ ।
0 प्रतिकृया