गठबन्धन लुतो हो : केपी शर्मा ओली
एक्सन खबर
राजन कटुवाल
हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन् । आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरीरमा आउने लुतो जस्तै भएको बताएका हुन् ।
‘लुतो धेरै ठूलो घाउ त हैन तर जताततै चिलाइरहन्छ', उनले भने, ‘अहिलेको गठबन्धन पनि त्यस्तै हो, काम गर्दैन ओली र एमालेलाई गाली मात्रै गरिरहन्छ ।’ उनले अहिलेको सरकार खान जन्मिएको आरोप पनि लगाए । ‘अहिलेको सरकारले देशको ढुकुटी मात्र रित्याएको छ,’ उनले भने, ‘एमालेको सरकार हुँदा सात ओटा मन्त्रालयले विकास गरिरहेको थियो । अहिलेको सरकार आउने बित्तिकै १८ वटा मन्त्रालय पुर्याएको छ ।’
गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिन धेरै षड्यन्त्र रचेको उनको आरोप छ । ‘सरकारले फागुन महिनाभित्रै स्थानीय तहको निर्वाचन गराउनुपर्ने थियो, गठबन्धन अहिले पनि चुनाव बिथोल्न लागिपरेको छ ।’ उनले भने ।
‘गठबन्धन बाध्यताले चुनावमा सहभागी भएको छ । चुनाव गराउन बाध्य भएको छ । अहिले पनि चुनाव बिथोल्न खोजिरहेको छ’, ओलीले भने, ‘यदि लायक सरकार हुन्थ्यो भने फागुनभित्रै यो चुनाव सम्पन्न भैसक्नुपर्थ्यो ।’
सरकारले कमिसनको लागि अहिले चुनावको मुखमा अरबौंको स्वास्थ्य सामग्री खरिद गरिरहेको आरोप लगाए । ‘मन्त्रीको सिक्रीले धेरैलाई बाँधेर राखेकोले त्यही पार्टीमा बसिरहेका छन् । नत्र पार्टी प्रवेश गर्न आइसक्थे’, ओलीले भने ‘फुटेर गएको पार्टीको नाम एकीकृत भन्न थाले । कांग्रेसको पछि लाग्नेको नाम समाजवादी पार्टी रे ।’
कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणि पौडेल, मकवानपुर इन्चार्ज रामेश्वर राना, हेटौंडाको मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर र स्वतन्त्र रहेका व्यक्तिहरू एमाले प्रवेश गरेका थिए ।
0 प्रतिकृया