Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


‘अन्धकारमय काठमाडौंलाई उज्यालो र सुरक्षित बनाउँछु’ सिर्जना सिंह

एक्सन खबर
बैशाख, १९, २०७९


‘अन्धकारमय काठमाडौंलाई उज्यालो र सुरक्षित बनाउँछु’ सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा कांग्रेस नेतृ सिंहले आफूले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित काठमाडौं बनाउने बताइन् ।

वर्षौंसम्म सक्रिय राजनीति गरेपनि कहिले पदको अपेक्षा नगरेको उनको भनाइ छ । महानगरको हकमा युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने, पर्यटकीय, व्यापारिक केन्द्र बनाउने, स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्युनीकरण गर्ने लगायतका कामहरु प्राथमिकतामा राखेर काम गर्ने कांग्रेस नेतृ सिंहले बताइन् ।

संकल्पकी वरिष्ठ उपाध्यक्ष शोभा बस्नेतले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट टोखा नगरपालिकामा मेयरको उम्मेदवार बनेकी रजनी थापाले महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तानेर माथि उठाउनुपर्ने बताइन् ।

कार्यक्रममा थापाले भनिन्, ‘महिलाको बाधक महिला नै हुन्छन् भनेर हामीमाथि आरोप छ । सासू,बुहारी,नन्द, अमाजु एकले अर्कोलाई साथ दिएर हिँड्ने हो भने हामीलाई कसैले रोक्न सक्दैन । यो अभ्यास घरबाटै सुरु गर्नुपर्छ ।’ महिला भएकै कारणले मत दिने नभइ भिजन र एजेण्डा हेरेर मत दिन उनले आग्रह गरिन् । आफूले जित हाँशिल गरे महिला शशक्तिकरण र हिंसा विरुद्ध लड्ने योजना बनाउने उनले बताइन् ।

त्यसैगरी, विवेकशील साझा पार्टी काठमाडौंबाट मेयरकी उम्मेदवार समिक्षा बाँस्कोटाले २५ वर्षमा महानगरले ठुला पार्टीका नेताबाट कुनै परिवर्तन नपाएकोले गुनासो पोखिन् । बाँस्कोटाले सार्वजनिक यातायातमा हुने हिंसाको न्युनीकरण, ढलको समस्या समाधान, सार्वजनिक शौचालय, ढुङ्गेधारा र सम्पदाको संरक्षण गर्नु आफ्नो पार्टीको उद्देश्य रहेको बताइन् ।

काठमाडौं महानगरकी एमाले उपमेयर उम्मेदवार सुनिता डंगोलले अग्रजहरुको आर्शीवाद लिएर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताइन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरबाट उपमेयरकी उम्मेदवार विनिता मगैयाँले समानताको लागि महिलाले राजनीतिमा धेरै भन्दा धेरै सहभागिता जनाउनु आवश्यक रहेको बताइन् ।

कार्यक्रममा विवेकशील साझा पार्टीकी काठमाडौंमा उपमेयरकी उम्मेदवार कृति तुलाधर, राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुर महानगर उपमेयर उम्मेदवार स्वर्णिमा शाक्य लगायतले पनि आ–आफ्नो मन्तव्य राखेका थिए ।













0 प्रतिकृया