‘गढीको वर्तमान र भविष्य बनाउन आश नारायण चौधरीको आवश्यक छ’
एक्सन खबर
दुहबी । सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेले आफ्नो चुनावी गतिविधिलाई तिव्रता दिएको छ । ग्रामीण क्षेत्रका महिलालाई आर्थिक सशक्तिकरणको माध्यमबाट एकबद्ध गराउँदै आएका आश नारायण चौधरी तथा अनिता शाहको चुनावी अभियान गढीका गाउँगाउँ पुगेको हो ।
गढी गाउँपालिकालाई नमुना गाउँको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको नेकपा एमालेले बैशाख ३० गते हुन गइरहेकाे स्थानीय तहकाे निर्वाचनमा युवा उम्मेदवार उठाएको छ । गढीका जनताका साझा समस्या पहिचान गरी दिगो विकास, शुशासन कायम गर्ने अभियान अनुसार एमालेले लामो समय शिक्षण पेशामा संलग्न रहेका तथा लघुवित्त कार्यक्रमका अनुभवी युवालाई गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको हो ।
‘आश नारायणजीको टिमका सबै यो क्षेत्रसँग परिचित यहाँका रैथाने हुनुहुन्छ । गढीको समस्या के हो ? समाधान कसरी गर्ने, गढीलाई आगामी दिनमा कसरी अगाडि बढाउने उहाँहरूसँग प्रष्ट भिजन छ ।’ नेकपा एमालेका नेता रामदेव यादवले भने । गाउँपालिकालाई व्यवस्थित, सुसंस्कृत र प्रत्येक घरमा आर्थिक सशक्तिकरणको अभियान पुर्याउँदै विकास गर्ने हो भने आश नारायण चौधरीको टिमले जित्नु पर्ने उनले दावी गरे ।
गाउँपालिकाका अधिकांश वडाहरूमा विकासका कार्यक्रम नपुगेको, गरिबी, अशिक्षा, सामाजिक बिभेद रहेकाले ती सबैलाई निमिट्यान्न गर्न पनि शिक्षित युवाहरू नेतृत्वमा आउनुपर्ने गढीका युवाहरूको बुझाई छ । विगतका नेतृत्वले आफ्नो ठाउँको लागि किन काम गरेनन् भन्दापनि अबको नेतृत्वले कसरी गाउँ बनाउँछ त्यो महत्वपूर्ण रहेको छ । ‘अस्ताएको सूर्य भोलि नयाँ किरण लिएर उदाउँछ । विगतमा कसले के गर्यो गरेन भन्दापनि वर्तमान र भविष्यका लागि के गर्ने ठूलो कुरा हो ।’ सुनसरीका निर्वाचन क्षेत्रहरूमा अनुगमन तथा पार्टीको प्रचारात्मक कार्यक्रममा सक्रिय सहभागी भएकी एमाले केन्द्रीय सदस्य भगवती चौधरीले बताइन् ।
आश नारायण चौधरी, अनिता शाह तथा उनको टिमले गढीको विकासमा योजनाबद्ध रुपमा काम गर्ने लक्ष्य लिएको छ । गाउँमा कृषि, पशु तथा इन्जिनियरिङको प्राविधिक शिक्षालय, स्वच्छ खानेपानी, उपचारका लागि आफ्नै अस्पताल, कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकरण गर्न वैज्ञानिक कृषि प्रणाली, आधुनिक कृषि औजार, कृषकबाट उत्पादीत अन्न तथा नगदेवालीको सहज बजार व्यवस्थापन, समयमै मल तथा विउविजनको व्यवस्थापन गर्ने योजना बनाएको छ । सुनसरीका अन्य क्षेत्रहरु भन्दा पछाडी रहेको गढीलाई देशकै नमुना गाउँपालिका बनाउने उद्देश्य अनुसार एमालेले सामाजिक सुरक्षासँग जोडिएका कामहरुलाई पनि प्राथमिकताका साथ अगाडि सारेको छ ।
बृद्ध, अशक्त, गरिब, दलित तथा विपन्न वर्गलाई राहत तथा पुर्नस्थापन, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति, महिलालाई सीप विकास, नेतृत्व विकास, एकल महिला, विपन्न वर्ग लगायतलाई सामाजिक सुरक्षा, पर्यटन क्षेत्रको विकास, वडाका हरेक क्षेत्रहरूमा सडक सञ्जाल लगायत एउटा पूर्ण सम्पन्न गाउँको विकासको लक्ष्य एमालेले लिएको छ ।
त्यसो त गढीबासीले यसपटक नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाइसकेका छन् विगतका नेतृत्वले विकासका कायृक्रम ल्याउँदा समेत राजनीतिक आस्थाकै आधारमा विभेद गरेकाले उनीहरु जितेर गइसकेपछि निष्पक्ष रुपमा जनताको सेवा गर्ने व्यक्ति खोजिरहेका छन् ।
आश नारायण चौधरीले निर्वाचनमा एउटा पार्टीबाट उम्मेदवार भएपनि जितेर गइसकेपनि आफु जनताको प्रतिनिधि भएकाले जुनसुकै राजनीतिक पार्टीमा आस्था राख्नेलाई निष्पक्ष ढंगले व्यवहार गर्ने प्रतिबद्धता जनाएका छन् । ‘जनप्रतिनिधि भनेका जनताका सेवक हुन् । जनताले जनमत दिएर पठाएपछि त्यो जनप्रतिनिधिले इगो साँधेर भेदभाव गर्छ भने त्यो अपराध हो । म र मेरो टिमले कदापी त्यस्तो अन्यायपूर्ण व्यवहार गर्दैन ।’ चौधरीले भने ।
0 प्रतिकृया