Follow us:


Follow us

१९ वैशाख २०८३, शनिवार
१९ वैशाख २०८३, शनिवार


बाँकेमा पुन मतदानको अवस्था नआउने गरी काम गर्न मतदान निर्देशन

एक्सन खबर
बैशाख, २४, २०७९


बाँकेमा पुन मतदानको अवस्था नआउने गरी काम गर्न मतदान निर्देशन

नेपालगञ्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाँकेका आठ वटै स्थानीय तहमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पुनः आफ्नो मतदान केन्द्रमा मतदान गर्नु नपर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एकदिने प्रशिक्षणमा मतदान केन्द्र र मतदान सामाग्रीको सुरक्षाको बारेमा जानकारी मूलक प्रशिक्षण दिँदै उनले सो निर्देशन दिएका हुन् ।
 
बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले तालिममा सहभागी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आफू खटेको मतदान केन्द्रको सुरक्षा तथा आफूलाई दिइएको जिम्मेवारीको बारेमा गहन भएर कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले भने, ‘तपाईंहरूलाई खटाईंएको मतदान केन्द्रमा पुगेर आफूलाई तोकेको जिम्मेवारी सफलता पूर्वक कार्य सम्पन्न गरेर फर्कनु होला । त्यसको लागि आफूले गर्न हुने र नहुने सबै कुरा आभारसहितले निर्दिष्ट गरे अनुसार नै गर्नु होला ।’ उनले स्पष्ट शब्दमा निर्वाचनमा खटिने कर्मचारीलाई कुनै पनि उम्मेदवार वा दलको निकट भएर काम नगर्न र पक्षधरता नदेखाउन निर्देशन दिए ।

उनले मतदान केन्द्रमा मोबाइल लिन नपाइने, तथा निर्वाचन आचार संहिताको बारेमा सर्वदलीय छलफलमा स्पष्ट पारेर काम अघि बढाउन, सुरक्षा निकाय पनि साथमै हुने र दुवैको काम स्पष्ट तोकिएकोले समन्वयमा काम गर्न निर्देशन दिए । ‘तपाईंलाई खटाइएको केन्द्रमा पुनः मतदान गर्न नपर्ने गरी कार्य सम्पादन गरेर फर्कनु होला,’ उनले भने ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत तथा बाँके जिल्ला अदालतका वरिष्ठतम न्यायाधीश खडानन्द तिवारीले शान्तिपूर्वक मतदान सम्पन्न गराउनको लागि खटिने सबै मतदान अधिकृत सहायक मतदान अधिकृत र कर्मचारीहरूको दायित्व अत्यन्त बढी हुने भएकोले चनाखो भएर निष्पक्ष तरिकाले आफूलाई तोकेको जिम्मेवारी बहन गर्नको लागि आग्रह गरे ।

उनले मतदान केन्द्रमा कुनैपनि विवाद र मतदान प्रक्रियामा आउने अवरोधलाई पन्छाउँदै शान्तिपूर्वक मतदान गर्ने वातावरण बनाउने जिम्मा पनि मतदान अधिकृतकै हुने भएकोले आफ्नो कार्य कुशलताको प्रदर्शन गरी तोकिएको जिम्मेवारी पुरा गर्न आग्रह गरे ।

जिल्ला निर्वाचन अधिकृत रमा पन्तले बाँकेका आठ वटै स्थानीय तहमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एकैपटक प्रशिक्षण गर्न नसकिने भएकोले बिहीबार कोहलपुर, नरैनापुर, खजुरा, शुक्रबार नेपालगञ्ज, जानकी र डुडुवा र शनिबार बैजनाथ र राप्तीसोनारीमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने गरी समय तालिका बनाइएको जानकारी दिइन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई मतदान केन्द्रको निर्माण, आचारसंहिता, मतदान केन्द्रको सुरक्षा,लगायतको विषयमा प्रशिक्षण प्रमुख जिल्ला अधिकारी खत्री, मुख्य निर्वाचन अधिकृत तिवारी, अनुसन्धान उपनिर्देशक नागेन्द्र गिरीलगायतले प्रशिक्षण दिएका थिए ।

बाँकेमा ८ वटा पालिकामा रहेका १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थलका लागि ३ सय ७९ मतदान अधिकृत, सहायक मतदान अधिकृत ७ सय ५८, अन्य सहायक कर्मचारी १ हजार १सय ३७ र मतदान अधिकृतले स्थानीय स्तरमा राख्ने स्वयमसेवकहरू प्रति मतदान केन्द्रमा ३ का दरले १ हजार १ सय ३७ जना जिल्लाका सबै मतदान केन्द्रमा खटिने भएका छन् ।













0 प्रतिकृया