स्थानीय तहकाे निर्वाचनमा कसले कहाँबाट मतदान गरे ?
एक्सन खबर
काठमाडाैं । स्थानीय तहकाे निर्वाचनमा मतदाता, उम्मेदवार तथा विभिन्न राजनीतिक दलका नेताहरूकाे उत्साहजनक सहभागिता रहेकाे छ । आज भइरहेकाे स्थानीय तहमा बिहान देखि नै मतदाता तथा राजनीतिक दलका उम्मेदवार र नेताहरू सक्रियतापूर्वक सहभागी भएका हुन् ।
७५३ स्थानीय तहका लागि भइरहेकाे मतदान अहिले सम्म शान्तिपूर्ण ढंगले चलिरहेकाे छ । ७७ जिल्लामा १० हजार ७५६ मतदानस्थल रहेका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा राजनीतिक दलका नेता तथा उम्मेद्वारहरूले बिहानै मतदान गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् । प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् ।
एमाले उपाध्य विष्णु पाैडेलले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरे । भने, गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका छन् ।
यता सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए ।
स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा हिजोनै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । गृह जिल्ला पर्वतको मोदी गाउँपालिका-७ राम्जाको पशुपति मावि 'क' केन्द्रबाट मतदान गरेका हुन् । उनले पशुपति केन्द्रबाट बिहान मतदान गरे । स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अघि गाउँ पुगेका थिए ।
काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरे । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।
यस्तै, भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले पनि मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।
नेकपा एमाले सचिव याेगेश भट्टराईले ताप्लेजुङ मैवाखोला गाउँपालिका- ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा मतदान गरे ।
यता, निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् । लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता दिपक बोहराले रुपन्देहीको सिद्धाथर्गनगर- ३ बाट मतदान गरेका छन् । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका नेता बोहराले सिद्धार्थनगर ३ स्थित खजहना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
पर्सा वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार पत्रकार गिरीश गिरीले मतदान गरेका छन् । वीरगञ्ज -९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेको गिरीले बताए । लामो समय मुलधारको पत्रकारिता गरिरहेका गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्ज मेयरमा उम्मेदवारी दिएका हुन् ।
यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि मतदान गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ को जनता विद्यापिठ विजौरी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विहानीको घमाइलोमा तुल्सीपुर उपमहानगर पालिका वडा नम्बर १९ को जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गरियो ।’
एमालेकै उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका-५ को मतदान केन्द्रमा मतदान गरे । देशैभर शुक्रबार एकैसाथ भइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उपाध्यक्ष पाण्डेले राप्ती नगरपालिका ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट मतदान गरे ।
मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए । बिहान ७ बजेदेखि मतदान सुरु भएको र त्यसलगत्तै मन्त्री शर्मा मतदान गरेर फर्किएको उनले बताए ।
0 प्रतिकृया