लिङ्देन, बाबुराम र भट्टराईले गरे मतदान
एक्सन खबर
काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिका–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् ।
प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दसाैं पटक मतदान गरेका छन् । गाउँकै भगवती दिनानाथ मावि केन्द्र खाेटाङ पुगेर भट्टराईले मतदान गरेका हुन् ।
मतदानपछि उनले भनेका छन्, 'गणतन्त्र प्राप्तिपछिको दोस्राे स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो।' मतदान गरेकाे १० औं पटकमा ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेकाे र तीन पटक भने हारेकाे भट्टराईले बताए ।
यस्तै, पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि मतदान गरेका छन् । उनले गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।
मतदान गर्दै उनले लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरिएको बताए । मतदान गर्दै उनले सबैलाई मतदान गरेर स्थानीय लोकतन्त्र सुदृढ गर्न पनि अपिल गरेका छन् ।
0 प्रतिकृया