दुहवी नगरपालिकाः कांग्रेसको गढमा एमालेको पकड
एक्सन खबर
सुनसरी । सुनसरीको दुहवी नगरपालिकामा नेकपा एमालेले पकड बनाएको छ । कांग्रेस नेता विजयकुमार गच्छदारको गढकारुपमा परिचित दुहवी तथा सुनसरी क्षेत्र नं. ३ मा एमालेले योपल्टको स्थानीय तहको निर्वाचनमा पकड कायम गरेको हो ।
अहिलेसम्म दुहवीमा एमालेले ४ वटा वडाहरुमा जित हासिल गरिसकेको छ । दुहवी वडा नं. १, ३, ११ र १२ नंं वडाहरुमा एमालेका अजुल हुसैन, माधब भण्डारी, खड्गनारायण उराव तथा रामचन्द्र चौधरी निर्वाचित भइसकेका छन् । कांग्रेसबाट वडा नं. २ र ४ मा क्रमसः अरबिन्द विस्वास र मुस्तकिम मिया निर्वाचित भएका छन् ।
अब दुहवीको ६ वटा वडाहरुको मतगणना हुन बाँकी रहेको छ । दुहवी ५, ६, ७, ८ र ९ नं. वडाहरुको मतपरिणाम आउन बाँकी रहेकोमा नगर प्रमुखमा कांग्रेस र एमाले विच कडा प्रतिष्पर्धा देखिएको छ । अहिले वडा नं. ५, ९ र १० को मतगणना भइरहेकोमा एमाले कांग्रेसविच नै प्रतिष्पर्धा छ ।
दुहवीमा २०७४ सालको स्थानीय तह निर्वाचन नेपाली कांग्रेसले जित हासिल गरेको थियो । दुहवी नगरप्रमुखमा मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट बेद नारायण गच्छदार ७४२० मत ल्याएर निर्वाचित हुँदा उपप्रमुखमा पनि फोरम लोकतान्त्रिककै सुनिता दाहाल निर्वाचित भएकी थिइन् ।
एमाले त्यसबेला तेश्रो स्थानमा रहेको थियो । हाल मेयरमा प्रतिष्पर्धा गरिरहेका विनय पोखरेलले ५१२५ मत ल्याएर तेश्रोमा रहँदा नेपाली कांग्रेसका गौरिशंकर रौनियार ५६१५ मतसहित दोश्रो स्थानमा थिए ।
एमालेले तत्कालिन निर्वाचनमा दुहवीका ३ वटा वडाहरु जितेको थियो । तत्कालिम मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) हाल नेपाली कांग्रेसमा समाहित भएको) ले ५ वटा, नेपाली कांग्रेसले २ वटा तथा मधेशी जनाधिकार फोरमले एउटा वडामा जित हासिल गरेका थिए । अहिले ती वडाहरुमा नेपाली कांग्रेस र एमालेविच मात्र प्रतिष्पर्धा देखिएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा दुहवी नगरपालिका र १२ वटा वडाका निर्वाचित अध्यक्ष
वडा नं. १ (मो. अजुल हुसैन, ५४८), वडा नं. २ नेपाली कांग्रेस (अरबिन्द कुमार विस्वास, २८३), वडा नं. ३ एमाले (माधब भण्डारी, ५४०), वडा नं. ४ एमाले (राजनकुमार बस्नेत ५१९), वडा नं. ५ फोरम लोकतान्त्रिक (रमेश कुमार रौनियार ६१८), वडा नं. ६ मधेशी जनाधिकार फोरम (मुन्ना हलवाई, ३९७), वडा नं. ७, फोरम लोकतान्त्रिक (विजयकुमार चौधरी, ८०४), ८ नं. वडा नेपाली कांग्रेस (तारिकचन्द सरदार ९३५) वडा नं. ९ नेपाली कांग्रेस (मेहदी हुसैन, १३१६) वडा नं. १० फोरम लोकतान्त्रिक (लधुराम माझी (थारु) ८१३), वडा नं. ११ फोरम लोकतान्त्रिक (आशाराम चौधरी ९६७) वडा नं. १२ फोरम लोकतान्त्रिक (खुसीलाल चौधरी ९९०)
दुहवी नगरपालिकाको मतगणना मध्यविन्दुमा आइसक्दा मेयरमा कुन पार्टीले नेतृत्व गर्छ ठोकूवा गर्नसक्ने देखिएको छैन । एमालेका विनयकुमार पोखरेल र कांग्रेसका बेदनारायण गच्छदारविच कडा प्रतिष्पर्धा छ । मतगणनाको सुरुवाती चरणमा गच्छदार झिनो मतान्तरले अगाडी रहेका थिए । तर, दोश्रो चरणको मतगणनासँगै पोखरेलले निरन्तर गच्छदारलाई पछाडी पारेका छन् ।
दुवै उम्मेदवार विच खासै मतभिन्नता नरहेको तथा दुहवी बजारका कांग्रेसीहरुले बगावत गरेरै एमालेलाई भोट दिएकाले बेद गच्छदारको ‘पसिना’ छुटेको छ ।
बेद गच्छदारको आनीबानीका कारण पनि स्थानीय रुष्ट छन् । नगरप्रमुख भनेको प्रत्यक्ष जनतासँग सरोकार राख्ने ब्यक्ति हो । तर, दुहवी नगरपालिकामा मेयरलाई कसैले भेट गर्न चाहन्छ भने सिंहदरबारकै झल्को मिल्छ । उनलाई आम सर्वसाधारण जनताले सजिलै भेट गर्न पाउँदैनन् । उनलाई भेट गर्न सुरुमा उनको स्वकीय सचिब वा कार्यालय सहयोगीबाट समय लिनुपर्छ । समय पाइहालेमा पनि को कहाँबाट किन आएको सबै लेखाएर चिट दिनुपर्छ । त्यसपछि उनलाई भेट्न मनलागे मात्र उनको कार्यकक्षमा पस्न पाइन्छ । नत्र उनका आसेपासेको गाली, अपमान सहँदै निरिह बन्दै फर्कनुपर्छ ।
कुनै काम लिएर नगरपालिका गएका आम सर्वसाधारणले उनलाई भेट गर्नै सक्दैनन् । त्यसो त नगरपालिकामा गएका सबैले मेयरलाई भेट गर्नुपर्छ भन्ने पनि छैन तथापि, जनतासँग प्रत्यक्ष जोडिने व्यक्ति जनताबाट टाढिएर बस्नु कत्तिको जायज हो ? यो पटकको निर्वाचनमा गच्छदारलाई जनताले सोधेको प्रश्न पनि हो ।
कथंकदाचित मेयरमा गच्छदारले बाजी मारिहाले पनि विगतमा जसरी उनले नगरपालिकामा हालिमुहाली गरेका थिए त्यसरी चलाउन सजिलो चैं हुनेछैन । एमालेले नगरप्रमुख जिते नगरमा मात्र हैन सुनसरी क्षेत्र नं. ३ मै लालकिल्ला गाड्न कसैले रोक्न सक्दैन ।
0 प्रतिकृया